जनकपुरधाम (धनुषा), ७ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका स्थानीयवासीले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न माग गर्दै आइतबार बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । नेपाल विद्युत् प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले कपिलेश्वरमा लामो समयदेखि सिटी फिडरमार्फत हुँदै आएको विद्युत् आपूर्तिलाई केही दिनयता ग्रामीण फिडरमा जोडेपछि समस्या थपिएको स्थानीयको आरोप छ ।
फिडर परिवर्तन गरिएपछि भोल्टेज कम हुने, पटक–पटक विद्युत् अवरुद्ध हुने तथा पछिल्लो समय लामो समयसम्म विद्युत् नआउने समस्या देखिएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार शनिबारदेखि विद्युत् आपूर्ति ठप्प हुँदा करिब ४० डिग्री तापक्रममा घरभित्र बस्न र राति सुत्नसमेत समस्या भएको छ । विद्युत् नहुँदा घरायसी प्रयोजनका लागि पानी तान्न नसक्दा शौचालयमा पानीको समस्या हुनुका साथै इन्भर्टर र मोबाइल फोनसमेत चार्ज गर्न नपाएको उनीहरूले बताएका छन् ।
विद्युत् समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शनसहित हुलाकी राजमार्ग अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध भएपछि राजमार्गमा आवतजावतसमेत प्रभावित भएको छ । आन्दोलनमा सहभागी स्थानीयले कपिलेश्वर क्षेत्रमा पुनः सिटी फिडरमार्फत विद्युत् आपूर्ति सुचारु नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अत्यधिक गर्मीका बेला विद्युत् आपूर्ति ठप्प हुँदा सर्वसाधारणको जनजीवन प्रभावित भएकाले प्राधिकरणले तत्काल समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ ।







प्रतिक्रिया दिनुहोस् !