वीरगंज (पर्सा), १३ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, त्यसपछिको चिकित्सकमाथिको कुटपिट तथा दुर्व्यवहारको घटनालाई लिएर सुरु भएको आन्दोलन अन्ततः सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि अन्त्य भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले बुधबारदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित बैठकले पाँचबुँदे सहमति गरेको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए । सहमतिअनुसार नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिहरूमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम थप कानुनी प्रक्रिया अघि बढाइने भएको छ ।
त्यसैगरी, स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुनी व्यवस्था थप प्रभावकारी बनाउन उक्त ऐनका दफा २, ३ र १५ तथा ‘मुलुकी अपराध संहिता, २०७४’ का दफा २३२ र २३३ संशोधनका लागि आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक दर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने सहमति भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।
बैठकले ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ अन्तर्गत स्वास्थ्य सेवासँग सम्बन्धित प्रावधानहरू पुनरावलोकन गर्न नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । उक्त कार्यदलले पेश गर्ने प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन अघि बढाइने जनाइएको छ ।
यसअघि सरकार र नेपाल चिकित्सक संघबीच भएका विभिन्न सहमतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन मन्त्रालय तथा चिकित्सक संघका प्रतिनिधि सम्मिलित अर्को कार्यदल तीन दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी र सह–कोषाध्यक्ष डा. तेजसु सिंह मल्ल सहभागी थिए ।
पाँचबुँदे सहमतिपछि नेपाल चिकित्सक संघले जारी आन्दोलन औपचारिक रूपमा स्थगित गर्दै बुधबारदेखि नै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !