तिलाठीकोइलाडी (सप्तरी), १४ असार । वर्षायाम सुरु भएसँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा फेरि बाढीको त्रासमा दिन बिताउन बाध्य भएका छन् । नदीको जलस्तर बढ्ने संकेत देखिनासाथ स्थानीयमा सम्भावित बाढीको चिन्ता बढ्ने गरेको छ भने विशेषगरी रातिको समयमा आउने आकस्मिक बाढीको डर वर्षौंदेखिको पीडाका रूपमा कायम छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले गाउँपालिकाका करिब २५ प्रतिशत घरधुरी अति उच्च बाढी जोखिममा रहेको देखाएको छ ।
मर्सीकोर्प्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित परियोजनाअन्तर्गत गरिएको घरधुरी सर्वेक्षणले तिलाठी कोइलाडी क्षेत्रमा बाढीको जोखिम निकै गम्भीर रहेको औंल्याएको हो । अध्ययनअनुसार जोखिम बढ्नुको प्रमुख कारण कमजोर आवास संरचना र भौगोलिक अवस्था हो । नदी आसपासका अधिकांश घर फुस तथा कमजोर निर्माण सामग्रीबाट बनेका छन् भने ९७ प्रतिशत घर एकतले मात्रै रहेको पाइएको छ । यस्तो अवस्थाले आकस्मिक बाढीका बेला सुरक्षित स्थानमा आश्रय लिन थप कठिन हुने देखिएको छ ।
त्यसैगरी ८१ प्रतिशत घर जमिनको सतहसँगै वा अत्यन्त न्यून उचाइमा निर्माण गरिएका कारण सामान्य बाढीले समेत ठूलो क्षति पुर्याउने सम्भावना रहेको अध्ययनले उल्लेख गरेको छ । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलका अनुसार स्थानीय समुदायलाई विपद् सामना गर्न सक्षम बनाउन खोज तथा उद्धार, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । उनले आगामी दिनमा नयाँ घर निर्माण गर्दा कम्तीमा पाँचदेखि सात फिट उचाइमा जग राख्न प्रोत्साहन गर्ने नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।
विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले गाउँपालिकामा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाइएको र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय अवस्थामा रहेको बताए । उनका अनुसार समुदायस्तरमा नियमित कृत्रिम अभ्यास तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम पनि सञ्चालन हुँदै आएको छ ।
यसैबीच, आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोककुमार यादवले गाउँपालिकाका सबै आठ वटै वडामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी स्थानीय स्वयंसेवकको क्षमता अभिवृद्धिमा काम भइरहेको जानकारी दिए । यद्यपि स्थानीयवासीको सबैभन्दा ठूलो चिन्ता भने खाँडो नदीको बाँध र निरन्तर भइरहेको कटान नै रहेको छ । समुदायस्तरीय विपद् व्यवस्थापन समिति सकरपुराका अध्यक्ष केशरी सिंहका अनुसार बाँधको कमजोर अवस्थाका कारण हरेक वर्ष ठूलो क्षति दोहोरिने जोखिम अझै हट्न सकेको छैन ।
स्थानीय बासिन्दाले बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई प्रत्येक वर्ष दोहोरिने सामाजिक तथा आर्थिक संकटका रूपमा चित्रण गर्दै दीर्घकालीन नदी व्यवस्थापन, बलियो पूर्वाधार निर्माण तथा प्रभावकारी पूर्वतयारीमा सरकारले तत्काल प्राथमिकताका साथ लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।








प्रतिक्रिया दिनुहोस् !