वीरगंज (पर्सा), ९ असार । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थी कल्याण परिषद्मा निर्वाचित हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा प्रिफेक्टहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराइनु सकारात्मक पक्ष भएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्णय गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले विद्यार्थीहरूलाई अनुशासन, इमानदारी र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।
विद्यालयका संस्थापक प्रधानाध्यापक सरोज चौधरीले विद्यार्थी कल्याण परिषद्को निर्वाचन विद्यालयमै अध्ययनरत दुई जना विद्यार्थीले निर्माण गरेको विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न गरिएको जानकारी दिए । उनले आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यालयमा लोकतान्त्रिक अभ्यास गराउन पाएकोमा गर्व महसुस भएको बताए । ‘विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई नेतृत्व, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताको व्यवहारिक अनुभव दिन विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ’ चौधरीले भने ।
उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, केन्द्रीय सदस्य छुडुप लामा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यसै अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर–१३ का वडा अध्यक्ष हिरा गिरी, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दीन अहमद, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस् !