वीरगंज (पर्सा), ३ मंसिर । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद चर्किँदै गएको छ । शिशुको मृत्यु अक्सिजन अभावका कारण भएको भन्ने आरोपलाई अस्पताल प्रशासनले अस्वीकार गर्दै उपचारका क्रममा कुनै पनि समयमा अक्सिजन आपूर्ति बन्द नभएको दाबी गरेको छ । साथै, घटनाको निष्पक्ष छानबिन गर्न अस्पतालले सहमति जनाउँदै कानुनबमोजिम हुने स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शिशुलाई अस्पताल भर्ना गर्दादेखि मृत्यु हुँदासम्मको उपचार प्रक्रिया, स्वास्थ्य अवस्था र अक्सिजन आपूर्ति प्रणालीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । अस्पतालका अनुसार २०८३ कात्तिक २९ गते साँझ ७ः२० बजे तीन दिनदेखि ज्वरो आएको, शरीर पहेँलो भएको र अस्पताल ल्याउनुअघि सात घण्टाभित्र पाँचदेखि सात पटकसम्म कम्पन (सिजर) आएको अवस्थामा शिशुलाई आकस्मिक कक्षमा ल्याइएको थियो ।
प्रारम्भिक परीक्षणमा शिशुको अवस्था अत्यन्त गम्भीर देखिएको र रगतमा बिलिरुबिनको मात्रा २६.४ एमजी/डीएल रहेको अस्पतालले जनाएको छ । नवजात शिशुमा बिलिरुबिनको यस्तो उच्च मात्रा मस्तिष्कमा गम्भीर असर पार्न सक्ने जोखिमयुक्त अवस्था भएको अस्पतालको भनाइ छ ।
बालरोग तथा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) का विशेषज्ञ चिकित्सकको निगरानीमा शिशुको उपचार सुरु गरिएको थियो । अस्पतालका अनुसार डबल सर्फेस फोटोथेरापी, निरन्तर स्वास्थ्य निगरानी, श्वासप्रश्वास तथा रक्तसञ्चारमा आवश्यक सहयोग, पोषण व्यवस्थापन र सम्भावित संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधि दिइएको थियो ।
उपचार सुरु भएको १२ घण्टाभित्र बिलिरुबिनको मात्रा २६.४ बाट घटेर १५.१ एमजी/डीएल पुगेको अस्पतालले जनाएको छ । तर, शिशुलाई भर्ना हुनुअघि र एनआईसीयूमा उपचारकै क्रममा समेत पटकपटक कम्पन आएको तथा स्नायुसम्बन्धी समस्या देखिएकाले स्वास्थ्य जोखिम कायमै रहेको अस्पतालको दाबी छ ।
अस्पतालको विवरणअनुसार मंसिर १ गते दिउँसो २ः१५ बजेसम्म शिशुको अवस्था स्थिर थियो । तर, दिउँसो ३ बजे अचानक श्वासप्रश्वासमा समस्या देखिनुका साथै मुटुको धड्कन प्रतिमिनेट ७९ मा झरेको थियो । त्यसको केही समयपछि अक्सिजनको मात्रा (एसपीओटु) ५६ प्रतिशतसम्म घटेको अस्पतालले जनाएको छ ।
त्यसपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सीपीआर, भेन्टिलेटरमार्फत श्वासप्रश्वास सहयोग, एड्रेनालिनलगायत औषधि प्रयोग गरी शिशुलाई बचाउने प्रयास गरेको थियो । तर, निरन्तर पुनर्जीवन प्रयास सफल हुन नसकेपछि मंसिर १ गते साँझ ५ः०५ बजे चिकित्सकले शिशुको मृत्यु घोषणा गरेका थिए ।
अक्सिजन अभावको आरोप अस्वीकार
शिशुको मृत्युपछि अस्पतालमा अक्सिजन अभावका कारण घटना भएको भन्दै सार्वजनिक भएका समाचार तथा आरोपप्रति अस्पताल प्रशासनले आपत्ति जनाएको छ । अस्पतालले एनआईसीयूलगायत संवेदनशील उपचार कक्षमा अक्सिजन आपूर्तिका लागि बहुस्तरीय वैकल्पिक व्यवस्था रहेको दाबी गरेको छ ।
अस्पतालका अनुसार केन्द्रीय अक्सिजन प्लान्ट, केन्द्रीय सिलिन्डर म्यानिफोल्ड, एनआईसीयूका लागि छुट्टै स्थानीय म्यानिफोल्ड तथा तयारी अवस्थामा दुईवटा अक्सिजन सिलिन्डर राखिएको छ । यी व्यवस्थाले अक्सिजनको निरन्तर आपूर्ति सुनिश्चित गर्ने अस्पतालको भनाइ छ ।
विरोधका क्रममा एम्बुलेन्स र अक्सिजन बोकेको गाडीसमेत रोकिएको दाबी
शिशुको मृत्युपछि मंसिर २ गते अस्पताल परिसरमा भएको विरोध प्रदर्शनका क्रममा स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । केही व्यक्तिको समूहले मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल प्रवेशमा रोक लगाएको अस्पतालको आरोप छ ।
अस्पताल प्रशासनका अनुसार उक्त क्रममा गम्भीर बिरामी बोकेका तीनवटा एम्बुलेन्स र उपचाररत बिरामीका लागि अक्सिजन सिलिन्डर बोकेको सवारीसाधनलाई समेत अस्पतालभित्र प्रवेश गर्न दिइएन । बहिरंग सेवा अवरुद्ध गर्नुका साथै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धम्की र दुर्व्यवहार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारीहरूले दिएको लिखित निवेदनमा ज्यान मार्ने धम्की तथा महिला कर्मचारीमाथि समेत हातपात र दुर्व्यवहार भएको उल्लेख रहेको अस्पतालले जनाएको छ । शिशुको परिवारले न्याय माग गर्ने अधिकारलाई सम्मान गर्ने बताउँदै अस्पतालले विरोधका नाममा आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध गर्ने, एम्बुलेन्स रोक्ने र स्वास्थ्यकर्मीमाथि धम्की दिने कार्य स्वीकार्य नहुने जनाएको छ ।
छानबिनमा सहयोग गर्ने प्रतिबद्धता
शिशुको उपचार र मृत्युका परिस्थितिबारे परिवारले उठाएका प्रश्न तथा चासोलाई गम्भीरतापूर्वक लिएको अस्पतालले जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन हुने कुनै पनि स्वतन्त्र चिकित्सकीय वा प्रशासनिक छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।
अस्पतालको स्पष्टीकरणले अक्सिजन अभावको आरोप अस्वीकार गरेपनि नवजात शिशुको मृत्युबारे परिवार र सार्वजनिक वृत्तमा उठेका प्रश्नको निरूपण अझै स्वतन्त्र छानबिनकै विषय बनेको छ । यस्तो संवेदनशील घटनामा अस्पतालको दाबी वा परिवारको आरोपलाई मात्रै अन्तिम सत्य मान्नुभन्दा निष्पक्ष अनुसन्धानमार्फत वास्तविकता सार्वजनिक गर्नु आवश्यक देखिन्छ ।



























प्रतिक्रिया दिनुहोस् !