जितपुरसिमरा (बारा), ३ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरको पछाडि सवार उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
पूर्व–पश्चिम राजमार्गमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगंजबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आइरहेको बा.०२–०३७ प ८५२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ईभीको ठक्करबाट स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले दिउँसो १ः२१ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा वाइबासँगै स्कुटरमा सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङसमेत घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि हेटौँडा अस्पताल भर्ना गरिएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार ईभी झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँले चलाएका थिए । दुर्घटनामा संलग्न ईभी र स्कुटर दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जले आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता घलेले बताए ।




























प्रतिक्रिया दिनुहोस् !