इशनाथ (रौतहट), ९ असार । रौतहटको ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ‘५२ करोड ३० लाख ७० हजार रुपैयाँको बजेट’ सार्वजनिक गरेको छ । सोमबार आयोजित नगरपालिकाको १३औँ नगरसभामा उपप्रमुख मोहम्मद प्रवेजले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै समृद्ध र आत्मनिर्भर नगर निर्माणको लक्ष्य अघि सारिएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमध्ये ३२ करोड ८ लाख ८० हजार रुपैयाँ (६१.३४ प्रतिशत), चालु खर्चतर्फ तथा २० करोड २१ लाख ९० हजार रुपैयाँ (३८.६६ प्रतिशत), पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । सीमित स्रोत र साधनबीच नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै विकासलाई गति दिने उद्देश्यका साथ बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा ४ करोड ४९ लाख
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ‘४ करोड ४९ लाख रुपैयाँ’ विनियोजन गरेको छ । गर्भवती महिलाको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ भने औरैया र डुमरिया प्रसूति गृहमा विशेषज्ञ चिकित्सकसहित भिडियो एक्स–रे सेवा उपलब्ध गराइनेछ ।
नगरका नौवटै स्वास्थ्य संस्थामा मोबाइल टोलीमार्फत पोर्टेबल यूएसजी सेवा सञ्चालन गरिने व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाका लागि २५ लाख ९२ हजार रुपैयाँ छुट्याइएको छ । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, उपकरण, औषधि तथा उपचारात्मक सेवाको विस्तार गरिने नगरपालिकाले जनाएको छ ।
पूर्वाधार विकासमा सबैभन्दा ठूलो लगानी
नगरपालिकाले आगामी वर्ष पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । सडक विस्तार, स्तरोन्नति तथा कृषि सडक निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको छ । पूर्वाधार विकास शीर्षकमा मात्रै ‘१२ करोड १५ लाख रुपैयाँ’ विनियोजन गरिएको छ । यस बजेटबाट नगरका विभिन्न वडामा सडक निर्माण, मर्मत, ढल तथा अन्य भौतिक संरचना निर्माण गरिनेछ । कृषि उत्पादनलाई बजारसँग जोड्न ग्रामीण सडक सञ्जाल विस्तारलाई विशेष महत्व दिइएको छ ।
शिक्षामा गुणस्तर सुधारको अभियान
शिक्षा क्षेत्रका लागि नगरपालिकाले विद्यालय पूर्वाधार, प्रविधिमैत्री शिक्षण र शिक्षक व्यवस्थापनलाई प्राथमिकता दिएको छ । वडा नम्बर ७ स्थित बिपी कोइराला माध्यमिक विद्यालय घिउरामा भवन निर्माणका लागि ‘१ करोड ८० लाख रुपैयाँ’ विनियोजन गरिएको छ ।
साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय पूर्वाधार विकासका लागि ५६ लाख रुपैयाँ छुट्याइएको छ ।
सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिनेछ । विषयगत शिक्षक अभाव भएका विद्यालयमा नगर स्वयंसेवक शिक्षक कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि ‘२६ लाख ६४ हजार रुपैयाँ’ विनियोजन गरिएको छ ।
कृषि र पशुपालनमा उत्पादन वृद्धि लक्ष्य
नगरपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेर सिंचाइ, कृषि विद्युतीकरण र पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । साना सिंचाइ योजनाका लागि ‘४९ लाख रुपैयाँ’ विनियोजन गरिएको छ ।
कृषि प्रयोजनका लागि पोल, तार तथा ट्रान्सफर्मर व्यवस्थापन गरिनेछ । पशु रोग नियन्त्रण, निःशुल्क औषधि वितरण, कृत्रिम गर्भाधान, पशु उपचार शिविर तथा घाँस खेती विस्तार कार्यक्रम सञ्चालन गरिनेछ । कृषकलाई आधुनिक र व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने लक्ष्य बजेटले लिएको छ ।
महिला, दलित र लक्षित वर्गलाई प्राथमिकता
महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा शहीद परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न ‘१३ लाख रुपैयाँ’ विनियोजन गरिएको छ । महिला सशक्तीकरण, नेतृत्व विकास, आयआर्जन तथा सामाजिक समावेशीकरणका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
सूचना प्रविधि र सुशासनमा जोड
नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउने नीति लिएको छ । नगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने, पत्रकारहरूसँग नियमित अन्तरक्रिया गर्ने तथा जनतालाई सूचना पहुँच सहज बनाउने कार्यक्रम बजेटमा समेटिएको छ ।
नगरभित्रका सम्पूर्ण कार्यालय तथा संस्थाको डाटा व्यवस्थापनका लागि ‘डाटा सेन्टर’ स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । यसले डिजिटल सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
संघीय र प्रदेश सरकारबाट मुख्य स्रोत
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि संघीय सरकारको राजस्व बाँडफाँट, समानिकरण, सशर्त, समपूरक तथा विशेष अनुदान प्रमुख स्रोतका रूपमा रहेका छन् । साथै प्रदेश सरकारको अनुदान, सडक बोर्डको सहयोग, स्थानीय राजस्व बाँडफाँट तथा आन्तरिक आयबाट समेत बजेट व्यवस्थापन गरिनेछ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा खर्च नभई बचत हुने ‘१ करोड ५५ लाख ४५ हजार रुपैया’ समेत आगामी वर्षका लागि स्रोतका रूपमा समावेश गरेको छ ।
समृद्ध ईशनाथ निर्माणको प्रतिबद्धता
नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, सामाजिक न्याय, रोजगार, वातावरण संरक्षण तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ । सीमित स्रोतका बाबजुद नागरिकको जीवनस्तर उकास्ने, विकासको पहुँच सबै वडासम्म पुर्याउने तथा आत्मनिर्भर र समृद्ध ईशनाथ निर्माण गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरिएको नगरपालिकाको दाबी छ ।
नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि पारित गरिनेछ भने यसको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा नगरवासीको सक्रिय सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !