सिकेन्द्र पासवान
बेनौली (बारा), ८ असार । बारा जिल्लाको पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको बैठकमार्फत प्रस्तुत गरिएको उक्त बजेट नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि तथा स्थानीय नागरिकको जीवनस्तर सुधारमा केन्द्रित रहेको जनाइएको छ । नगर उपप्रमुख नसिमा खातुनले बजेट दस्तावेज नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवलाई हस्तान्तरण गरेपछि यादवले सभामा बजेट प्रस्तुत गरेका थिए ।
नगरपालिकाका अनुसार बजेटका प्रमुख स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रहेका छन् । संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत झण्डै २९ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त तथा विशेष अनुदानलाई पनि बजेटमा समावेश गरिएको छ । आन्तरिक आय, राजस्व बाँडफाँड तथा बैंक मौज्दातलाई समेत आधार बनाएर बजेटको आकार निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक स्रोत सुदृढीकरणका लागि कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । सडक, नाला, खानेपानी तथा सार्वजनिक संरचनाको निर्माण र स्तरोन्नतिका लागि उल्लेख्य रकम विनियोजन गरिएको छ । साथै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, सेवा पहुँच विस्तार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत विशेष जोड दिइएको छ । कृषि, पशुपालन तथा स्वरोजगार प्रवद्र्धनमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको छ । उत्पादनमूलक क्षेत्रको विकाससँगै आर्थिक गतिविधि विस्तार गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना नगरपालिकाले अघि सारेको छ ।
सामाजिक विकास तथा समावेशीकरणलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पछाडि परेका समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सामाजिक सुरक्षा र समावेशी विकासलाई थप प्रभावकारी बनाउन लक्षित कार्यक्रमहरू कार्यान्वयन गरिने नगरपालिकाको योजना छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख जलन्धर सिंहले पचरौता नगरपालिकालाई जिल्लाकै नमुना पालिकाका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफूहरू प्रतिबद्ध भएर काम गरिरहेको बताए । उनले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुखले बजेट निर्माण तथा तयारी प्रक्रियामा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नागरिकप्रति आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार पराजुलीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् !