वीरगंज (पर्सा), २६ जेठ । मधेश प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल लामो समयदेखि जनशक्ति अभाव, अपर्याप्त पूर्वाधार र बढ्दो बिरामी चापको समस्यासँग जुधिरहेको छ । पछिल्लो समय सडक विस्तार योजनाका कारण अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र सघन उपचार कक्ष (आईसीयू) रहेको भवन नै जोखिममा परेपछि अस्पताल थप संकटमा परेको छ । कागजमा पर्याप्त दरबन्दी भएपनि अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको अभाव कायमै छ ।
अस्पतालमा ११औँ तहका प्रथम श्रेणीका १५ विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत रहेकामा ओपिडी सेवामा हाल चारजना मात्रै कार्यरत छन् । बाँकी ११ पद लामो समयदेखि रिक्त रहेको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै, नवौँ र दशौँ तहका २६ चिकित्सकको स्वीकृत दरबन्दीमध्ये २१ जना मात्र कार्यरत छन् । ४० स्टाफ नर्सको दरबन्दीमध्ये आठ पद खाली हुँदा उपलब्ध जनशक्तिमाथि अतिरिक्त कार्यभार परेको छ । प्रशासनिक संरचनामा समेत तृतीय श्रेणीको प्रमुख पद रिक्त छ । आवश्यक जनशक्ति उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक–पटक अनुरोध गरिएपनि समस्या समाधान हुन नसकेको अस्पताल प्रशासनको भनाइ छ ।
बिरामीको अत्यधिक चाप, डायलाइसिस मेसिन प्रयोगविहीन
नारायणी अस्पतालमा दैनिक बढ्दो बिरामी चापले उपलब्ध पूर्वाधारमाथि थप दबाब सिर्जना गरेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म १ लाख ७८ हजार ७ सय ६१ जनाले बहिरङ्ग सेवा तथा ५२ हजार ७ सय ७१ जनाले अन्तरङ्ग सेवा लिएको तथ्याङ्क छ । वैशाख महिनामा मात्रै ६९९ वटा जटिल शल्यक्रिया सम्पन्न गरिएको थियो ।
अस्पतालका प्रशासन प्रमुख सुशील यादवका अनुसार सीमित शय्या र संरचनाका कारण बिरामीहरूलाई बरन्डा र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ । मिर्गौला रोगीका लागि अत्यावश्यक २१ डायलाइसिस मेसिनमध्ये छ वटा मेसिन भवन र आवश्यक कोठाको अभावमा प्रयोगमा ल्याउन नसकी स्टोरमै थन्क्याएर राखिएको छ ।
सडक विस्तारले इमर्जेन्सी र आईसीयू भवन संकटमा
अस्पतालले भोगिरहेको अर्को गम्भीर चुनौती वीरगंजको मुख्य सडक विस्तार योजना हो । सडक डिभिजन कार्यालय हेटौँडा र वीरगंज महानगरपालिकाले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर मापदण्ड कायम गर्ने क्रममा अस्पताल परिसरको नापजाँच गरी केही संरचनामा रातो चिन्ह लगाइसकेको छ । उक्त मापदण्डभित्र अस्पतालको आकस्मिक सेवा र आईसीयू सञ्चालन भइरहेको महत्वपूर्ण भवन परेको छ । सडक विस्तार कार्य अघि बढेमा ती भवन प्रभावित हुने अवस्था देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले अस्पताल अहिले बहुआयामिक दबाबमा रहेको बताउँदै आकस्मिक सेवा र सघन उपचार सञ्चालन भइरहेका संरचनामाथि जोखिम बढेको उल्लेख गरे । उनका अनुसार तत्काल सेवा स्थानान्तरण गर्न सकिने वैकल्पिक संरचना अस्पतालसँग उपलब्ध छैन । अस्पताल प्रशासनले बढ्दो स्वास्थ्य सेवा मागलाई सम्बोधन गर्न कम्तीमा २० बिघा क्षेत्रफलमा आधुनिक अस्पताल भवन निर्माण, थप शय्या विस्तार तथा आवश्यक जनशक्ति व्यवस्थापन अपरिहार्य भइसकेको जनाएको छ । समयमै आवश्यक पहल हुन नसके वीरगञ्जसहित आसपासका लाखौँ नागरिकको स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !