कटहरिया (रौतहट), २२ असोज । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ । कटहरिया नगरपालिका–५ का २२ वर्षीय सर्विन यादवविरुद्ध जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
बिहीबार पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि यादवविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनलाई रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।
विद्यालयबाट बाहिर बोलाएर छाप्रोमा लगेको आरोप
प्रहरीका अनुसार बुधबार बिहान द ड्रीम एकेडेमीमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पुर्याउन विद्यालय पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएका थिए । त्यसपछि नजिकैको सुनसान स्थानमा रहेको खाली छाप्रोमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनापछि बालिका त्यहाँबाट उम्किएर घर पुगेकी थिइन् । उनले आमालाई घटनाबारे बताएपछि परिवारले विद्यालय प्रशासनलाई जानकारी गराएको थियो ।


















प्रतिक्रिया दिनुहोस् !