वीरगंज (पर्सा), ६ मंसिर । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना स्थानीय लाभान्वित भएका छन् । शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुका साथै बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साको आयोजनामा शुक्रबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो । शिविरलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, म्याग्नस फार्मा प्रा.लि. र रुगंटा वेलफेयर सोसाइटीले सहकार्य गरेका थिए ।
शिविरमा नेशनल मेडिकल कलेजका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए । बालरोग विशेषज्ञ डा. फारुक जकी अन्सारी, नेत्ररोग विशेषज्ञ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मधु कुमार साह, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन खत्री, छालारोग विशेषज्ञ डा. निलमणि प्रियदर्शी र दन्तरोग विशेषज्ञ डा. सलोनी झासहितको चिकित्सकीय टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहित स्थानीय सर्वसाधारणले आफ्ना स्वास्थ्य समस्याबारे विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिने अवसर पाएका थिए । स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसीको विशेष उपस्थितिमा सम्पन्न शिविरमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष पार्वती आचार्य भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, नेपाली सेनाका मेजर प्रभाकर सिलवाल तथा प्रहरी नायब उपरीक्षक राजु कार्की सहभागी थिए ।
त्यसैगरी वीरगंज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटालगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
स्थानीय बासिन्दालाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने र आर्थिक तथा भौगोलिक कारणले उपचार सेवाबाट वञ्चित हुन सक्ने नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । ३४६ जनाले एकै स्थानमा विशेषज्ञ चिकित्सकबाट परीक्षण, परामर्श र औषधि सेवा पाउनुले ग्रामीण तथा स्थानीयस्तरमा यस्ता स्वास्थ्य शिविरको आवश्यकता र महत्त्वलाई पुनः उजागर गरेको छ ।


























प्रतिक्रिया दिनुहोस् !