वीरगंज (पर्सा), १२ जेठ । पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ । सरकारी वकिल कार्यालयमार्फत दायर मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर सिंहसहित चार जनालाई अनुपस्थित प्रतिवादी जनाउँदै जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दाअन्तर्गत अदालतले लिखत किर्ते तथा झुठा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा पक्राउ अनुमति दिएको जनाएको छ ।
जिल्ला अदालतका अनुसार अर्काकी छोरीलाई नक्कली हस्ताक्षरमार्फत जन्मदर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दायर गरिएको हो । अदालतले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत किर्ते गर्ने कसुरमा सात वर्षसम्म कैद तथा ७० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको जनाएको छ । उक्त मुद्दामा मेयर राजेशमान सिंहसहित उनकी दोस्रो भनिएकी श्रीमती रिता भट्टराई, उनकी छोरी तथा एक पञ्जीकरण अधिकारीलाई प्रतिवादी बनाइएको छ । अदालतले चारै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको हो ।
यस प्रकरणमा पर्सा प्रहरीले अनुसन्धान प्रक्रिया अघि नबढाएको भन्दै उजुरीकर्ता लियाकत अलीले उच्च अदालत जनकपुर, अस्थायी इजसाल वीरगंजमा रिट दायर गरेका थिए । त्यसपछि उच्च अदालतले प्रहरी प्रशासनलाई तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उजुरी दर्ता हुँदा तत्कालीन प्रहरी उपरीक्षक कोमल शाह पर्सामा कार्यरत थिए । त्यसयता क्रमशः कुमोद ढुंगेल, गौतम मिश्र हुँदै हालका प्रहरी उपरीक्षक सुदीप राज पाठकको कार्यकालसम्म अनुसन्धान जारी रहेको जनाइएको छ ।
जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार लिखत सम्बन्धी कसुर र झुठा विवरण पेश गरी नागरिकता बनाएको विषयमा छुट्टाछुट्टै चार वटा मुद्दा दर्ता भएका छन् । सरकारी वकिल कार्यालयका अनुसार वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयाका लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते तथा नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए । उजुरीमा मेयर सिंहले किर्ते जन्मदर्ता तयार गरी त्यसकै आधारमा अर्काकी छोरीलाई नागरिकता, राहदानी तथा अन्य सरकारी कागजात बनाइदिएको आरोप लगाइएको छ ।









प्रतिक्रिया दिनुहोस् !