वीरगंज (पर्सा), ३० वैशाख । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइ र विभिन्न सरोकारवाला निकायहरूको संयुक्त टोलीले बुधबार वीरगंजका मासु पसलहरूमा अनुगमन गरेको छ । सो क्रममा मिसावट गरिएको मासु जफत गर्नुका साथै एक जना व्यवसायीलाई जरिवाना गरेको छ ।
अनुगमनका क्रममा मुरलीस्थित ‘दिलसाद फ्रेस हाउस’ बाट अखाद्य वस्तु मिसावट गरिएको करिब १२ केजी २०० ग्राम मासु जफत गरिएको छ । त्यसैगरी राधेमाईस्थित ‘इरफान मासु पसल’ दर्ता तथा स्वीकृतिविना सञ्चालन गरिएको र मासुमा मिसावट गरी बिक्री वितरण गरेको पाइएकाले उक्त पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
बाख्राको मासुलाई खसी/बोकाको मासु भन्दै भ्रामक रूपमा बिक्री वितरण भइरहेको जनगुनासोपछि टोलीले मुरली, राधेमाई, श्रीराम हल तथा रेलवे रोड क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको थियो ।
यस्तै मुरलीस्थित ‘डेरी हब’ मा बिक्रीका लागि राखिएको आइसक्रिममा उत्पादन मिति उल्लेख भएपनि उपभोग्य मिति उल्लेख नभेटिएकाले उक्त आइसक्रिमसमेत नष्ट गरिएको टोलीले जनाएको छ । अनुगमनका क्रममा व्यवसायीहरूलाई मूल्य सूची अनिवार्य रूपमा राख्न, मासुको स्पष्ट पहिचान खुल्ने गरी मात्रै बिक्री वितरण गर्न तथा सरसफाइमा कुनै पनि सम्झौता नगर्न कडा निर्देशन दिइएको छ । 








प्रतिक्रिया दिनुहोस् !