वीरगंज (पर्सा), ११ वैशाख । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका कारण पूर्ण रूपमा भूमिहीन बनेका नागरिकलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । यसका लागि महानगरले सूचना जारी गर्दै प्रभावित घरधनीहरूलाई आवश्यक विवरण पेश गर्न आह्वान गरेको छ ।
राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका घरटहरा डोजरमार्फत हटाइएपछि केही नागरिक पूर्ण रूपमा विस्थापित भई भूमिहीन अवस्थामा पुगेका छन् । यस्तो अवस्थालाई ध्यानमा राख्दै महानगरले वास्तविक पीडितहरूको पहिचान गरी राहत उपलब्ध गराउन लगत संकलन सुरु गर्न लागेको जनाएको छ ।
महानगरका अनुसार सडक क्षेत्रमा बसोबास गर्दै आएका र अन्यत्र कुनै पनि जग्गा नभएका नागरिकलाई प्राथमिकतामा राखेर विवरण संकलन गरिनेछ । प्रभावित व्यक्तिहरूलाई ३० दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण बुझाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोलादाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो। महानगर प्रमुख राजेशमान सिंहले प्राप्त विवरणको यथार्थता जाँच गरी पूर्ण रूपमा प्रभावित नागरिकका लागि संघीय सरकारसमक्ष राहत सिफारिस गरिने जानकारी दिएका छन् ।
सूचनामा थप जानकारीका लागि महानगरपालिकाको भूमि व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख गौरव कुमार झासँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !