जनकपुरधाम, २७ चैत । २५ वर्षदेखि वैदेशिक रोजगारीमा पसिना बगाउँदै आएका ४८ वर्षीय शोगारथ ठाकुरका लागि बिहीबार जीवनकै अविस्मरणीय दिन बन्यो । साउदी अरबबाट केही दिनअघि मात्र घर फर्किएका उनी आफ्नी छोरी रुबीकुमारी ठाकुर उपसभामुख बन्ने खबरसँगै भावुक बने ‘आँखामा खुसीका आँसु झरे’ ।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित सामान्य घरमा बसोबास गर्ने ठाकुर परिवारले यस्तो दिन कहिल्यै कल्पना गरेको थिएन । आर्थिक रूपमा कमजोर यस परिवारमा राजनीतिक पहुँच त टाढाको कुरा, कसैले सार्वजनिक पद पाउने सोचसमेत थिएन । तर समयले अप्रत्याशित मोड लियो ‘छोरी रुबी सांसद हुँदै उपसभामुख पदमा पुगिन्’ ।
साउदीमा काम गरिरहँदा छोरी सांसद बन्दैछिन् भन्ने खबर उनले पहिलोपटक सञ्चारमाध्यमबाट थाहा पाए । ‘त्यो बेला पनि विश्वास गर्न गाह्रो भयो,’ उनी भन्छन्, ‘छोरीले फोन गरेर सुनाएपछि त झन् सपनाजस्तो लाग्यो ।’ घर फर्किएपछि भने खुसी अझ बढ्यो, जब रुबी उपसभामुख बन्ने निश्चित भयो । बिहीबार मनोनयन दर्तापछि रुबीले बुबालाई फोन गरेर ‘म उपसभामुख बन्दैछु’ भनेको क्षण शोगारथका लागि भावुक बन्यो । केही समयमै उनी संसद्बाट निर्वाचित भइन् ।
शोगारथ विगत २५ वर्षदेखि वैदेशिक रोजगारीमा कपाल–दाह्री काट्ने काम गर्दै आएका छन् । यही आम्दानीले उनले ६ सन्तानको पालनपोषण र शिक्षादीक्षा गर्दै आएका छन् । परिवारसँग चार धुरमा बनेको सानो घर र दुई कठ्ठा जमिन मात्र छ । कठिन आर्थिक अवस्थाबीच हुर्किएकी रुबीले स्थानीय विद्यालयबाट एसएलसी पास गरी सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययन गरेकी हुन् । उनी धनुषाकै एक कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् ।
रुबी स्वयं पनि सांसद बन्ने कुरा आफ्नो कल्पनाभन्दा बाहिर रहेको बताउँछिन् । ‘अढाइ महिनाअघिसम्म राजनीतिसँग मेरो कुनै सम्बन्ध थिएन,’ उनी भन्छिन् । चुनावअघि मात्र श्रम संस्कृति पार्टीमा साधारण सदस्यका रूपमा आवद्ध भएकी उनले समानुपातिक सूचीमा नाम राखेपनि सांसद बन्ने आशा गरेकी थिइनन् । उनका अनुसार पार्टीले आफूजस्ता पहुँचविहीन र साधारण परिवारका व्यक्तिलाई अवसर दिनु नै ठूलो कुरा हो । यही अवसरले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको छ ।
नयाँ जिम्मेवारीसँगै रुबीले वैदेशिक रोजगारीको बाध्यता र मधेशमा व्याप्त दाइजो प्रथाविरुद्ध काम गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘देशमै रोजगारीको वातावरण बनोस् र युवाहरू विदेशिन बाध्य नहोस् भन्ने मेरो प्राथमिकता हो,’ उनले भनिन्, ‘दाइजो प्रथाले निम्त्याएको हिंसाविरुद्ध पनि आवाज उठाउँछु ।’ छोरीको सफलताप्रति शोगारथ गर्वित छन् ।
‘मेरो छोरी देश र जनताको सेवा गरोस्, यही चाहना हो,’ उनी भन्छन् । तर पारिवारिक जिम्मेवारी अझै बाँकी छन् ‘तीन छोरीको विवाह, छोराछोरीको पढाइ’ । त्यसैले उनी फेरि वैदेशिक रोजगारीमै फर्किने तयारीमा छन् । ‘विदेश नगए घर चल्दैन,’ उनी भन्छन्, ‘तर छोरीको यो सफलता मेरो जीवनकै सबैभन्दा ठूलो खुसी हो ।’









प्रतिक्रिया दिनुहोस् !