वीरगंज (पर्सा), २९ माघ । चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिएका छन् । घरदैलो तथा प्रत्यक्ष जनसंवादमार्फत मतदातासँग भेटघाट गरिरहेका चौधरीले आफ्नो जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन् ।
चौधरी अन्य उम्मेदवारको तुलनामा सक्रिय देखिएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार तथा ड्राइपोर्टका मुआब्जा पीडितको मुद्दालाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको बताएका छन् । यी जनजीविकासँग जोडिएका विषयका कारण मतदाताबीच आफूप्रति आकर्षण बढेको उनको भनाइ छ ।
समाजवादी नारासहित जनतामाझ पुगेका चौधरीले गरिब, मजदुर, मधेशी, आदिवासी, जनजाति तथा सर्वहारा वर्गको हितमा नेपाली कम्युनिस्ट पार्टी मात्र दृढ रहेको दाबी गरे । उनले पर्साका मतदाता सचेत भइसकेकाले यसपटकको निर्वाचनमा भ्रम फैलाएर मत प्रभावित गर्न नसकिने उल्लेख गरे ।
आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गर्दै चौधरीले विगतमा निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनबारे जनतालाई स्पष्ट जानकारी भइसकेको बताए । ‘साँचो अर्थमा नयाँ र प्रतिबद्ध उम्मेदवार म नै हुँ,’ उनले भने । चौधरीले पार्टीको ‘ताराछाप’ चुनाव चिह्नप्रति जनताको समर्थन बढ्दै गएको दाबी गर्दै विजयप्रति आत्मविश्वास व्यक्त गरे ।
उनले सामाजिक सञ्जालमा देखिने प्रचार प्रसारभन्दा जमिनको यथार्थ फरक रहेको बताए । ‘हल्ला र प्रचारको पछि जनता लागेका छैनन्, उनीहरू सत्य र विकासको पक्षमा छन्,’ चौधरीले भने । मतदाताबाट आफूले विश्वास र साथ पाउँदै आएको उनको दाबी छ ।








प्रतिक्रिया दिनुहोस् !