वीरगंज (पर्सा), २९ माघ । पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । यसैक्रममा वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ । स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको थियो ।
घरदैलो अभियानका क्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याबारे संवाद गरेका थिए । इनर्वाका बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक नाला जस्ता आधारभूत पूर्वाधार, साथै युवापुस्ताको भविष्यसँग जोडिएका विषय उठाएका थिए । सर्राफले यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताको आवाज संसदसम्म पुर्याउने’ अठोट दोहोर्याए ।
रात्रीसभालाई सम्बोधन गर्दै सर्राफले मधेशका मुद्दाहरू लामो समयदेखि ओझेलमा परेको उल्लेख गरेले त्यस्ता मुद्दालाई सम्बोधन गर्न जनमत पार्टी नै विकल्प रहेको बताएका थिए । ‘मधेशको नाममा ठूला आन्दोलन भए, धेरै राजनीतिक नारा उठे, तर आज पनि मधेशका आधारभूत सवालहरू पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्,’ उनले भने । विजयी भएपछि मधेशसँग सम्बन्धित पहिचान, प्रतिनिधित्व, विकास र अधिकारका सवाललाई नीतिगत तहमा उठाउने र कार्यान्वयनतर्फ विशेष पहल गर्ने उनको प्रतिबद्धता थियो ।
उनले विगतमा निर्वाचित केही प्रतिनिधिहरूले मधेशको नाममा राजनीति गर्दै व्यक्तिगत स्वार्थ साधेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह गरे । ‘अब नाराभन्दा काम हेर्ने समय आएको छ,’ उनले जोड दिए । स्पष्ट एजेण्डा, पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको आधार बनाएको बताउँदै सर्राफले नयाँ सोच र काम गर्ने शैलीको आवश्यकता औंल्याए ।
रात्रीसभामा देखिएको भीड र सहभागिताले सर्राफप्रति स्थानीय तहमा बढ्दो चासो झल्काएको छ । कार्यक्रममा सहभागी युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे प्रश्न उठाएका थिए । सर्राफले युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यक्रम कार्यान्वयन गर्ने योजना सुनाएका थिए । महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवद्र्धनका विषय उठाउँदै सहयोगको अपेक्षा राखेका थिए ।
स्थानीय बुद्धिजीवीहरूले युवा उम्मेदवार, स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण सर्राफप्रति आकर्षण बढ्दै गएको टिप्पणी गरेका थिए । उनीहरूले परिवर्तनको अपेक्षा राख्ने मतदाताका लागि सर्राफ नै विकल्प रहेको उल्लेख गरे । यसको साथसाथै विगतमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गर्न नसकेकोले यहाँका जनताहरुले विकल्प खोजि रहेको अवस्थामा जनमत पार्टी र उम्मेदवार ओमप्रकाश सर्राफ नै विकल्पको रुपमा रहेको स्थानीय मतदाताहरुको भनाई छ ।
जनमत पार्टीको तर्फबाट सञ्चालन भइरहेको घरदैलो र सभासमारोहले पर्सा क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढाएको छ । मतदाताको घरआँगनमै पुगेर संवाद गर्ने अभियानले उम्मेदवार र समुदायबीच विश्वासको सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ । इनर्वाबाट सुरु भएको यो सक्रियता क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ । इनर्वाको रात्रीसभा र घरदैलो अभियानले पर्सा क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।













प्रतिक्रिया दिनुहोस् !