वीरगंज (पर्सा), २६ माघ । वीरगंजमा सोमबार अखिल नेपाल महिला संघ पर्साको भेला सम्पन्न भएको छ । उक्त कार्यक्रम पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने उद्देश्यसहित आयोजना गरिएको हो ।
भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घरदैलोमार्फत एमालेका उम्मेदवारको पक्षमा जनमत निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । संघकी अध्यक्ष इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशमा राजनीतिक स्थिरता, विकास र सुशासन कायम गर्न एमालेको विजय अपरिहार्य रहेको बताइन् । उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले निर्वाह गरेको भूमिकाको उल्लेख गर्दै महिलाहरूको सक्रिय सहभागिताले पार्टीलाई विजयतर्फ अग्रसर गराउने धारणा राखिन् ।
‘महिलाको हकहितका लागि एमालेले नीति र व्यवहार दुवै तहमा काम गरेको छ, त्यसैले अब महिलाहरू एकजुट भई एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्छ’ उनले भनिन् । त्यसैगरी, नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको नजिकको सम्बन्ध तथा विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनको जित समयको माग भएको उल्लेख गरिन् । उनीहरूले महिला संघका सदस्यहरूलाई संगठित रूपमा चुनावी अभियानमा सक्रिय हुन आग्रह गरेका छन् ।
अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर रूपमा प्रदीप यादवको पक्षमा अभियान सञ्चालन गर्ने जानकारी दिँदै महिलाहरूको एकता र सक्रियताले उनको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् । भेलाको समापनमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको समर्थनमा एकजुट भएर अघि बढ्ने संकल्प व्यक्त गरेका थिए ।







प्रतिक्रिया दिनुहोस् !