वीरगंज (पर्सा), १८ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ निवासी निर्माण व्यवसायी रामाकान्त चौरसियाले क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएपछि स्थानीय राजनीतिक वृत्त र मतदाताबीच व्यापक चर्चा र अन्योल देखिएको छ । वीरगंज महानगरपालिका–१९, बर्वा (क्षेत्र नं. २) स्थायी घर भएका चौरसिया आफ्नै क्षेत्र छोडेर अर्कै क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
निर्वाचनअघि नेपाली कांग्रेससँग निकटता रहेका चौरसियाले एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनावी मैदानमा उत्रिएको विषय पनि चासोको केन्द्र बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार उनले आफ्नै क्षेत्र नम्बर–२ बाट चुनाव नलड्नुको प्रमुख कारण त्यही क्षेत्रबाट कांग्रेसका उम्मेदवार तथा उनका आफन्तसमेत पर्ने पूर्व मन्त्री एवं निर्वतमान सांसद अजय चौरसिया रहेको बताइन्छ ।
क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिँदा आफन्त उम्मेदवारलाई असर पर्ने आकलनका कारण उनले क्षेत्र नम्बर–३ रोजेको चर्चा राजनीतिक वृतमा चलिरहेको छ । तर आफ्नै आधार क्षेत्र छोडेर नयाँ क्षेत्रमा उम्मेदवारी दिएपछि क्षेत्र नं. ३ का मतदाताहरूले उनलाई सहज रूपमा स्वीकार गर्न नसकेको स्थानीयहरूको भनाइ छ ।
स्थानीय बासिन्दाहरूका अनुसार क्षेत्र नं. ३ मा चौरसियाको उल्लेखनीय सामाजिक वा राजनीतिक योगदान नदेखिएको कारण मतदाताबीच विश्वासको वातावरण बन्न सकेको छैन । परिणामस्वरूप उनले रोजेको क्षेत्रमै उनको उम्मेदवारीप्रति प्रश्न, आशंका र असन्तुष्टि बढ्दै गएको बताइन्छ ।
यता, शनिबार पोखरिया नगरपालिका–७ मा आयोजित घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको आरोपसमेत सार्वजनिक भएको छ । निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरेको भएपनि उक्त घटनाप्रति सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् ।








प्रतिक्रिया दिनुहोस् !