वीरगंज (पर्सा), १७ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको दीर्घकालीन समृद्धि र जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन् । कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहसम्म पुर्याउने स्पष्ट योजनासहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उम्मेदवार पाण्डेले प्रस्तुत गरेका एजेन्डा प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पर्सा–३ को समग्र विकासमा उल्लेखनीय परिवर्तन आउने र जनसुविधामा ठोस सुधार हुने विश्वास व्यक्त गरेका छन् । कृषि आधुनिकीकरणतर्फ ध्यान केन्द्रित गर्दै उनले कृषकलाई गुणस्तरीय मलखाद र बीउको सहज उपलब्धता, आधुनिक कृषि प्रविधिको प्रयोगका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गरिने बताए । परम्परागत खेतीलाई व्यवसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल तथा पशुपालनलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।
स्वास्थ्य सेवाको गुणस्तर सुधारअन्तर्गत सबै गाउँपालिका र वडाका स्वास्थ्य संस्था तथा अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण गरिने र आधुनिक उपकरणसहित डिजिटल तथा प्रविधिमैत्री स्वास्थ्य सेवा विकास गरिने योजना उनले सार्वजनिक गरेका छन् ।
शिक्षा क्षेत्र सुधारका लागि विद्यालय सरसफाइलाई प्राथमिकता दिँदै विद्यार्थी–अभिभावक–शिक्षकबीच नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै सीपमूलक शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवद्र्धन गर्दै हाजिरीजवाफ, वादविवाद तथा वक्तृत्वकला प्रतियोगितालाई विशेष महत्व दिइने पाण्डेले बताएका छन् ।
रोजगारी र उद्यमशीलता विकासतर्फ देशका प्रतिष्ठित उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण गरिने, स्थानीय स्रोत र सीपको प्रयोगमार्फत रोजगारी सिर्जना गरिने तथा युवालाई लक्षित सीप तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने योजना अघि सारिएको छ ।
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल र विजुलीबत्ती जस्ता आधारभूत संरचनाको दिगो विकास गरिने, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण गरिने र विकास कार्यमा पारदर्शिता, गुणस्तर तथा समयपालन सुनिश्चित गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
त्यसैगरी क्षेत्रका ९६ हजारभन्दा बढी मतदाता तथा नागरिकका हक–हित र सरोकारका विषयलाई संसद्, मन्त्रालय तथा नीति निर्माण तहसम्म पुर्याउने योजना पनि उम्मेदवार पाण्डेले अघि सारेका छन् । स्थानीय समस्या समाधानका लागि निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने उनले स्पष्ट पारे ।
उम्मेदवार रुपेश पाण्डेका अनुसार यी छ वटा विकास एजेन्डाको प्रभावकारी कार्यान्वयनले पर्सा–३ को समग्र विकास, जनसुविधा विस्तार र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।







प्रतिक्रिया दिनुहोस् !