वीरगंज (पर्सा), १६ माघ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार वीरगंज महानगरपालिका वडा नम्बर–१५ मा आयोजित एमालेको विशेष पार्टी प्रवेश कार्यक्रममा यादवसहित सोही वडाका १२० जना नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका हुन् ।
नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य एवं वीरगंजका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मालगायतका नेताहरूले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै इश्वरचन्द्र यादवले मधेशका बाँकी रहेका मुद्दाहरूको समाधान अब नेकपा एमालेले नै गर्ने विश्वास व्यक्त गरे । यही भरोसाका कारण आफूहरू जसपा परित्याग गरी एमालेमा प्रवेश गरेको उनको भनाइ थियो । उनले केही शक्तिहरू विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षडयन्त्रमा संलग्न रहेको आरोप लगाउँदै त्यसविरुद्ध सशक्त रूपमा उभिन सक्ने राजनीतिक शक्ति हाल एमाले मात्रै भएको दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य प्रभु हजराले जसपाका महानगर अध्यक्ष यादवसहित ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गर्नुले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा पार्टी अझ सशक्त बनेको बताए । यसले पर्सा–१ बाट एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित हुने उनले दाबी गरे ।
उक्त कार्यक्रममा नेकपा एमाले पर्सा जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल, उमेशलाल सहनीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस् !