वीरगंज (पर्सा), २२ पुस । विगत केही दिनदेखि वीरगञ्जमा जारी विरोध प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यले मङ्गलवार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा भएको सहमतिपछि स्थानीय प्रशासनले वीरगंजमा जारी कर्फ्यु आदेश हटाएको छ । कर्फ्यु हटेसँगै सहरको जनजीवन क्रमशः सहज बन्दै गएको छ ।
जिल्ला सुरक्षा समितिको २०८२ साल पुस २१ र २२ गतेको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यु आदेश मङ्गलवार अपराह्न ३:३० बजेदेखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् । कर्फ्यु हटेसँगै नागरिकको आवागमन, व्यापार–व्यवसाय र दैनिक गतिविधि सामान्य बन्दै गएको छ ।
बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटना तथा दुर्घटनालाई लिएर वीरगञ्जमा कुनै पनि प्रकारको प्रदर्शन वा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्ता विषयमा असहमति वा पीडा भएमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव विरुद्ध हुन सक्ने गतिविधि नियन्त्रण गर्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि बैठकबाट गरिएको छ । संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट मोहम्मद महबुब अली (शेरु) र अली असगर मदनी रहनेछन् । आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहने व्यवस्था गरिएको छ ।
बैठकले सञ्चारकर्मीहरूलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवार पत्रकारिता गर्न अनुरोध गरेको छ । धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने उद्देश्यले दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।
बैठकमा सहभागी सबै संस्था, पक्ष र अभियन्ताहरूले निर्णयहरू आफ्ना–आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, निर्णयको समर्थनमा विज्ञप्ति जारी गर्ने र थप विरोध कार्यक्रम नगर्ने सहमति जनाएका छन् ।
सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद सोनार, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, नेपाली कांग्रेसका रामनारायण कुर्मी, नेकपा (माओवादी केन्द्र) का रामदरश कुशवाहा, जसपा नेपालका रामनरेश यादव, जनमत पार्टीका ओमप्रकाश सर्राफ, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, हिन्दु–मुस्लिम धर्मगुरु तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस् !