वीरगंज (पर्सा), १६ पुस । लगातार बाक्लो हुस्सुले आकाश ढाकिरहेको छ, पश्चिमी सिरेटोले हड्डीसम्म चिस्याइरहेको छ, र त्यसकै प्रभावले मधेससहित महोत्तरीको जनजीवन अहिले निकै कठिन बन्दै गएको छ । जाडो यति बढेको छ कि सर्वसाधारण बाहिर निस्कनै सक्दैनन् भने विपन्न बस्तीका घरआँगनमा बिहानदेखि बेलुकासम्म ‘घूर’को धुवाँ र आगो तापेर बस्ने भीड देखिन्छ । गरिब समुदायका लागि यही घूर ताप्नु चिसो धपाउने सबभन्दा ठूलो आश्रय बनेको छ ।
पुस ३ गतेदेखि सुरु भएको शीतलहर पछिल्ला दिनहरूमा झन् तीव्र हुँदै गएपछि मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारलगायत गरिब समुदायमाथि थप मार परेका छन् । वर्षौंदेखि चिसो लागेपछि सुरु हुने यस्तै दुःखद दिनहरू यतिखेर फेरि पनि दोहोरिएका छन् न अन्न भण्डार गर्ने कोठा, न ओढ्ने ओछ्याउने न्यानो कपडा । कुपोषण, अशिक्षा र गरिबी चपेटामा परेकाहरूका लागि जाडोको मौसम भोगाइभन्दा पनि पीडाको समय हो ।
महोत्तरीको लोहारपट्टी–४ लेउरीटोलकी ५० वर्षीया श्रीवती सदा हिउँदको यथार्थ सुनाउँछिन् ‘के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ कि सोधेन । दाउरा भए आगो ताप्थ्यौं होला, तर अहिले यही घूरको धुवाँ र सानो सानो रापले जाडो काट्नु भाग्य बनेको छ ।’ दैनिक मजदुरी गरेर जीविका चलाउने उनीहरूलाई चिसोका कारण काममा निस्कन कठिन भएपछि भोकभोकै रात काट्नु पर्ने अवस्था आएको छ ।
गुजुमुज्ज परालका छाना, चुहिने भित्ताहरू र चिसो हावा छेक्ने कुनै बलियो संरचना नभएका यी बस्तीमा ‘घूर’ र पराल बाँधेर बनाइएको चटाइ नै जीवनरक्षक साधन बनेका छन् । स्थानीय भाषामा ‘गोनर’ भनिने यही चटाइ ओछ्याएर, भुइँमा पराल बिछ्याएर, शरीर ढाकेर उनीहरू रात बिताउँछन् । एकडारा–३ भटौलियाका छठु सदा भन्छन्, ‘भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो । राति धेरै चिसो भए फेरि उठेर घूर तापेर बस्नु पर्यो ।’
पछिल्ला करिब दुई साता यता राम्रो घाम नलागेपछि बस्तीमा पीडा झन् गहिरिएको छ । बिहान उज्यालो पर्खँदै बसेका बालबालिका, महिलादेखि वृद्धसम्मले चिसो हटाउने आशामा घूर वरिपरि घेरा बनाएर बस्न बाध्य छन् । लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्छन्, ‘हाम्रो चिसो काट्ने सहारा यही आगो हो। भगवान्को यस्तै खटन छ ।’
जाडोले केवल स्वास्थ्यमा मात्र हैन, भोकमरीको जोखिम पनि बढाएको छ । भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर चिन्ता पोख्छन् ‘दैनिक मजदुरी गरेर पेट पाल्नेहरुको काम शीतलहरले बन्दजस्तै बनाइदियो । घरको अन्न सकिँदै छ, अब भोकभोकै बस्ने दिन आउँदैछन् ।’
महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका सबै १५ स्थानीय तहमा मुसहर समुदायको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचकांकको हिसाबले उनीहरू निकै पछाडि छन् । बाँतर समुदाय पनि यस्तै अवस्थाबाट गुज्रिन्छ, रीतिथिती र जीवनशैली लगभग उस्तै देखिन्छ। तर बाँतर जाति भने मुख्य रूपमा भङ्गाहा क्षेत्रमा मात्र केन्द्रित छन् ।
शीतलहरका बीच उनीहरूको विगतका वर्षझैँ अहिले पनि जीवन चिसो अन्धकार र अप्ठ्याराका घेराभित्र छ । राहतका हात समाउने आशा गर्दै उनीहरू घाम लाग्ने दिनको प्रतीक्षा गरिरहेका छन् । तर घाम नउदाएसम्म ‘घूरको धुवाँ’ र ‘परालको चटाइ’ नै मधेसका गरिब बस्तीका लागि जाडो पच्छ्याउने सहारा बनेको छ ।










प्रतिक्रिया दिनुहोस् !