वीरगंज (पर्सा), १ साउन । असार २८ गते बिहान फोन गर्दा अरबिन्दको दुवै (एलसेन र एनटीसी) नम्बरमा सम्पर्क हुन सकेन । परिवारले ठान्यो— मोबाइलमा चार्ज सकियो कि ? असार २७ गते साँझ, भाइ अनिलले दाजु अरबिन्द पण्डितलाई वीरगन्जबाट काठमाडौँका लागि बस चढाएका थिए । शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरेका २२ वर्षीय अरबिन्द सेवा अवधिका लागि पत्र बुझ्न काठमाडौँ जाँदै थिए । काठमाडौँ पुगेर फोन गर्ने वाचासहित उनी बस चढेका थिए ।
देशभरजसो वर्षा सुरु भइसकेको थियो । बाढी-पहिरोको समाचार पनि फाट्टफुट्ट आउन थालेका थिए । उज्यालो भएसँगै वीरगन्जबाट भाइ अनिलले अरबिन्दलाई पटक-पटक फोन गरे । बिहान घर्कनै लाग्दा पनि फोन लागेन । अन्ततः अनिलले दाइका साथी विशाल केशरीलाई फोन गरे । विशाल अरबिन्दका क्लासमेट मात्रै होइनन्, होस्टलमा रुममेट समेत हुन् । विशालबाट जवाफ आयो, अरबिन्द काठमाडौँ आइपुगेका छैनन् । अनि अनिललाई शङ्का भयो, किनभने उनले दुईवटा बस पहिरोमा परेको खबर पाइसकेका थिए ।
उनले काठमाडौँको बसपार्कमा चिनेका व्यक्तिलाई फोन गरेर बुझे । स्पष्ट भयो— अरबिन्द चढेको बस (एन्जल डिलक्स, बस नं. १५१६) नै दुर्घटनामा परेको रहेछ । दाजु चढेको गाडी नम्बर र दुर्घटना भएको बसको नम्बर मिलेपछि उनी आत्तिए । ‘दुर्घटनाबारे थाहा भएपछि घर-परिवारमा रुवाबासी चल्यो । जसोतसो माहोल सामान्य बनाएर परिवारका सबै सदस्य चितवन आयौँ । चितवन आइपुग्दा प्रहरीले खोजीकार्य सुरु गरिसकेको थियो,’ सोमबार भरतपुर अस्पताल परिसरमा भेटिएका अनिलले भने, ‘तर आजसम्म दाइको अत्तोपत्तो छैन ।’
खोजीकार्य भइरहँदा परिवारका सदस्य सबै एक दिन चितवन बसे । भोलिपल्ट भने अनिल, अनिलका अङ्कल र अनिलका भिनाजुबाहेक अरु वीरगन्ज फर्किए । चार दिनदेखि अनिल दाजुको खोजीमा चितवनमा छन् । कहिले दुर्घटनास्थल, कहिले त्रिशूलीदेखि नारायणी नदी क्षेत्रको यात्रा त कहिले भरतपुर अस्पताल क्षेत्रमा दाजुको खोजीमा भौँतारिनु उनको दिनचर्या बनेको छ । दाजुको खोजीमा ओहोरदोहोर गर्दा उनका आँखा नदी किनारतिरै दौडिएका हुन्छन् । उनलाई कता-कता झिनो आशा छ— कतै दाइ बेहोस् परेका छन् कि ? यत्तिका दिनसम्म बेहोस् ! फेरि उनी शङ्का गर्छन् ।
असार २८ गते राति ३ः३० बजे चितवनको भरतपुर महानगरपालिका- २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो खस्यो । पहिरोले बगाएर वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ‘गणपति डिलक्स बस’ त्रिशूलीमा परे । यस दुर्घटनामा तीन जना सकुसल छन् भने ६२ जना बेपत्ता रहेको प्रारम्भिक खबर थियो । अनिलले अस्पतालमा आएका शवलाई नियालेर हेर्छन् । दाजुकै आकार-प्रकारको शव देख्दा उनको मन चिसो हुन्छ । ‘भेटिएका शवहरू पनि गल्न थालिसके,’ उनी निराश हुन्छन्, ‘तैपनि कतै बेहोस अवस्थामा हुन सक्छन् भनेर घर-परिवारलाई सम्झाउने गरेको छु ।’
वीरगन्जको स्थानीय विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरी अरबिन्द बीएससी नर्सिङ पढ्न काठमाडौँ बस्दै आएका थिए । चारवर्षे कोर्स सकेलगत्तै उनी परिवार भेट्न वीरगन्ज पुगे । छात्रवृत्ति कोटामा अध्ययन गरेकाले नेपाल सरकारले खटाएको स्थानमा उनले सेवा गर्नुपर्थ्यो । सेवाको पत्र बुझ्न काठमाडौँ आएका अरबिन्द अहिलेसम्म बेपत्ता छन् । अनिल अवरुद्ध गलासहित भन्छन्, ‘दाइले ग्रामीण भेगमा गएर नागरिकको सेवा गर्ने कुरा गर्नुहुन्थ्यो ।’
उद्धार तथा खोजीकार्यदेखि उनी सन्तुष्ट छैनन् । यति ठुलो दुर्घटना हुँदा पनि राज्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ । ‘५०/६० जना नागरिक दुर्घटनामा परेका छन् । नेताहरू सरकार बनाउने र मन्त्री खानेमा व्यस्त छन्,’ उनी आक्रोश व्यक्त गर्छन्, ‘नागरिकप्रति नेताहरूको कुनै संवेदना छैन । नागरिकहरूको विषयमा सरकारले सोच्दैन । दुर्घटनामा परेका परिवारलाई राज्यले आर्थिक सहायता प्रदान गर्नुपर्ने हो तर बेपत्ताको खोजी कार्य नै सरकारले गर्न सकेको छैन ।’ साभार ः रातोपाटी
प्रतिक्रिया दिनुहोस् !