सुडान डार्फर, ४ साउन । सुडानको पश्चिम क्षेत्रमा अवस्थित डार्फरमा आफूले देखेको कहालीलाग्दो घटना सम्झिएर मालिम अझै विचलित हुन्छन् । उनी सुडानबाट भागेर अहिले शरण लिन चाड आइपुगेका छन् । ‘मैले तपाईँहरूलाई यी तस्बिर र भिडिओ देखाएको वा मैले यी खिचेको छु भन्ने थाहा पाए भने म जोसँग काम गर्थेँ उनीहरूले मलाई जीवित छाड्ने छैनन्,’ आफ्नो फोनमा भएका तस्बिर देखाउँदै उनले भने । उनले ती दृश्य अल-जेनीना सहरमा खिचेका हुन् । उनको सुरक्षालाई ध्यान दिएर हामीले उनको नाम परिवर्तन गरेका छौँ ।
सुडानबाट पलायन हुनुअघि उनी डार्फरका सडकमा थुप्रिएका शवहरू हटाएर तिनलाई सामूहिक चिहानमा गाड्ने जिम्मा पाएको एउटा समूहमा थिए । देशको अर्धसैनिक फल ‘र्यापिड सपोर्ट फोर्सेज’ (आरएसएफ) र सेनाबीच गत एप्रिलमा सुरु भएको द्वन्द्वबाट डार्फर आक्रान्त छ । डार्फर आरएसएफको आधारक्षेत्र पनि हो ।
‘फोहोरजसरी’ मिल्काउन आदेश
मालिमको फोनमा भएका तस्बिरहरूमा दर्जनौँ शव देख्न सकिन्छ । कतिपय शवलाई कम्बल र कपडाले ढाकिएको छ, केही शव केही सुन्निएका वा सडेका छन् । उनले ध्वस्त पारिएका र लुटपाट गरिएका विभिन्न सहायता निकायका परिसरका तस्बिरहरू पनि देखाए । ‘मलाई ज्यादै नराम्रो लाग्यो । उनीहरूले भय र आतङ्कको अवस्थामै ज्यान गुमाए भन्ने मलाई लाग्छ । कैयौँ शवहरू एक साताभन्दा बढी समयदेखि सडकमा असरल्ल छरिएका थिए ।’ त्यो कुरा सम्झिँदा उनलाई असहज महसुस भएको देखिन्थ्यो ।
सबैभन्दा विचलित पार्ने दृश्य उनले झाडीबाट लुकेर खिचेको एउटा भिडिओमा देखिन्थ्यो । त्यसमा शवहरू लरीबाट सामूहिक चिहानमा फ्यालिरहेको देखिन्छ । ‘हामी जङ्गलको चिहानमा शव गाड्न गयौँ । तर आरएसएफले हामीलाई त्यसो गर्न दिएन । त्यही भएर आरएसएफको आदेशानुसार ट्रकको ड्राइभरलाई एउटा खाल्डोमा शवहरूलाई पुर्न भनियो ।’ मालिमका अनुसार आरएसएफले त्यसपछि उनीहरूलाई त्यो ठाउँ छोड्न आदेश दियो । ‘उनीहरूलाई इस्लाम संस्कारअनुसार गाडिनुपर्थ्यो ।
हामीले उनीहरूका लागि प्रार्थना गर्नुपर्थ्यो । तर आरएसएफले ती शवलाई फोहोरजसरी मिल्काउनुपर्ने जिद्दी गरे ।’ ती शव कसका हुन् वा उनीहरूको मृत्यु कसरी भयो भन्ने कसैलाई थाहा छैन । तर चाडमा शरण लिएका धेरै परिवारले आरएसएफले विशेषतः कम उमेरका पुरुष र किशोरहरूलाई पश्चिम डार्फरमा निसाना बनाएको र लुकेको ठाउँबाट निकालेर उनीहरूको हत्या गरेको बताएका छन् ।
निसानामा गैरअरब समुदाय
कतिपय परिवारले गैरअरब समुदायलाई निसाना बनाइएको जनाएका छन् । उनीहरूका अनुसार आरएसएफले जाँच चौकीहरूमा रोक्ने र जातीय पहिचानबारे प्रश्न गर्ने गरेका थिए । उनीहरूले आफू ‘मासालिट’ भएको बताउँदा मारिने भय रहेको सुनाएका छन् । बीबीसीले ती आरोपबारे सोधेको भए पनि आरएसएफले कुनै प्रतिक्रिया दिएको छैन । तर गत साताको सुरुमा उसले मासालिट समुदायका सदस्यमाथि त्यस्तै प्रकृतिका आक्रमणहरूमा संलग्न रहेको आरोप अस्वीकार गरेको थियो ।
मालिमको विवरण जुलाई १३ मा संयुक्त राष्ट्रसङ्घले दिएको प्रतिवेदनसँग मेल खान्छ । त्यसमा आरएसफले हत्या गरेको भनिएका कम्तीमा ८७ जना आदिवासी मासालिट र अन्यको शव गाड्न स्थानीय बासिन्दालाई बाध्य पारिएको उल्लेख गरिएको थियो । मालिमको फोनमा भएका तस्बिर र भिडिओका मेटाडाटाबाट ती सामग्रीहरू जुन २० र जुन २१ को बीचमा खिचिएको देखिन्छ । राष्ट्रसङ्घको प्रतिवेदनमा पनि त्यही मिति उल्लिखित छ । राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख भए झैँ मालिमले हामीलाई भनेअनुसार ती शवलाई अल-तुराब अल-अहमरको खुला क्षेत्रमा गाडिएको थियो। त्यो अल-जेनीना सहरको पश्चिममा एउटा प्रहरी शिविरनजिकै पर्छ ।
शवको थुप्रोमाथि एक घाइते
राष्ट्रसङ्घको विज्ञप्तिले कतिपय मानिसहरूले उपचार नपाएर ज्यान गुमाएको उल्लेख गरेको छ । मालिमको एउटा भिडिओमा शवको थुप्रोमा एक मानिसलाई जीवितै देखिन्छ। बोल्ने प्रयास गरिरहेका ती व्यक्तिको फुस्रा र फुटेका ओठमा झिँगा भन्किरहेको देख्न सकिन्छ । गोली लागेका ती व्यक्ति त्यहाँ आठ दिनदेखि त्यसरी रहेको मालिमले बताए । हामीलाई ती व्यक्तिलाई के भयो भन्ने थाहा छैन ।
मालिमले आफ्नो गृहनगरमा के भइरहेको छ भन्ने अभिलेख राख्न ती भिडिओ खिचेको बताएका छन् । तर तुरुन्तै आफूलाई त्यहाँ बस्न सुरक्षित अनुभूति नभएको उनले सुनाए । ‘मलाई डर लाग्यो किनभने उनीहरूले उनीहरूले (शव) फाल्ने काम गर्दा मोबाइल फोन बोकेका मानिसहरूको एकभन्दा बढी पटक खोजी गरे ।’
पुरानो तनाव
डार्फर अरब र डार्फरमा बस्ने अश्वेत अफ्रिकी समुदायबीच वर्षौँदेखि द्वन्द्व चलिरहेको छ । सबैभन्दा खराब हिंसा दुई दशकअघि भएको थियो जुनबेला गैरअरबहरूले सरकारले विभेद गरेको आरोप लगाउँदै हतियार उठाएका थिए । आरएसएफको जन्म कुख्यात ‘जन्जावीद अरब’ लडाकु समूहबाट भएको हो । उक्त समूहले विद्रोहलाई क्रूर ढङ्गले दमन क्रममा सयौँ मानिसहरूको हत्या गरेको थियो । उक्त समूहमाथि नरसंहार गरेको र जातीय सफाया गरेको आरोप लागेको छ । त्यसलाई २१ औँ शताब्दीको पहिलो नरसंहार पनि मानिन्छ ।
आरएसएफ र सुडानको सेनाबीच एप्रिलमा लडाइँ सुरु भएको थियो । त्यसले पुनः यो द्वन्द्वलाई चर्काउन खोजे जस्तो देख्निन्छ । गत महिना आरएसएफले मासालिट समुदायलाई लक्ष्य बनाएर नरसंहार गरेको आरोप लगाएलगत्तै वेस्ट डार्फरका गभर्नरको हत्या भएको थियो । यस पटक डार्फरको हिंसा छिटपुट मात्र भएको जस्तो देखिँदैन । हामीले आरएसएफ र गठबन्धनका अरब मिलिशियाहरूले मासालिटजस्ता अश्वेत अफ्रिकी समूहका वरिष्ठ व्यक्तिहरूलाई योजनाबद्ध निसाना बनाएको र दशौँ हजार मानिसहरू छिमेकी चाडमा भाग्न बाध्य पारेको भन्ने आरोप सुनेका छौँ ।
आरएसएफले यसलाई सन् २००० को दशकमा देखिएको जातीय द्वन्द्व फेरि बिउँतिएको घटनाका रूपमा प्रस्तुत गर्दै आफू संलग्न नरहेको बताएको छ । डार्फरबाट भागेका हजारौँ सुडानी नागरिकजस्तै मालिमसँग आफ्नो देश फर्किनुपर्ने खासै कुनै आकर्षण छैन । उनले आफ्नो घर जलाइएको र आफ्नो परिवारको जायजेथाहरू लुटिएको बताएका छन् । तर त्योभन्दा पीडादायी कुरा के हो भने त्यहाँ उनका धेरै मित्र तथा परिवारका सदस्य पनि हुने छैनन् । बिबिसी







प्रतिक्रिया दिनुहोस् !