वीरगन्ज (पर्सा), २५ जेठ / पर्साको विन्दवासिनी गाउँपालिका स्थित सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितको टोलीले पालिका अन्तर्गत रहेका १४ वटा विद्यालयमध्ये ७ वटा विद्यालयको छड्के अनुगमन गरेको थियो । कक्षा १ देखि ६ सम्मका बालबालिकाहरुको लागि दिवा खाजा वितरणमा अनियमितता भएको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा शिक्षाको अवस्था, विद्यार्थीहरुको उपस्थिति एवं शिक्षकहरुको जिम्मेवारी सम्बन्धि जानकारी लिइएको थियो भने विशेष गरि दिवा खाजाको अवस्था कस्तो छ ? मेनु अनुसार खाजा खुवाउने गरिएको छ कि छैन ? भन्ने बारे जानकारी लिइएको गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए । अनुगमनको क्रममा माध्यमिक तहका विद्यालयमा दिवा खाजाको खासै समस्या नदेखिएपनि प्राथमिक विद्यालयमा दिवा खाजामा लापरवाही हुने गरेको पाइएको थियो ।

मेनु अनुसार आइतबार हलुवा÷खीर, सोमबार कुखुराको मासु र भुजा, मंगलबार सेवाई, बुधबार अण्डा, विहीबार चना र मिठा एवं शुक्रबार समयानुसारको फलफुल वितरण गर्नुपर्ने हुन्छ तर अधिकाँश विद्यालयमा मेनु अनुसारको दिवा खाजा वितरण नगरिएको पाइयो । कुनै विद्यालयमा त बालबालिकाहरुलाई मासु भुजा कहिलेपनि वितरण नगरिएको पाइयो । सो क्रममा अनुमन टोलीमा सहभागी अध्यक्ष प्रमोद तिवारी तथा प्रमुख प्रशासकीय अधिकृत राजु साहले आगामी दिनमा दिवा खाजामा लापरवाही गरे विद्यालयका जिम्मेवार व्यक्तिलाई कारवाही समेत गरिने चेतावनी दिएका थिए ।
७ दिनको समय दिँदै सो अवधिभित्र तालिकाअनुसार दिवा खाजा वितरण गर्न विद्यालयलाई अध्यक्ष तिवारीले निर्देशन समेत दिए । साथै ७ दिनभित्र पनि सुधार नभएमा अभिभावक वा विद्यार्थीहरुले प्रत्यक्ष पालिका अध्यक्षलाई जानकारी गराउन पनि आग्रह गरे । सोही अवसरमा हरेक विद्यालयमा दिवा खाजाको तालिका पनि वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष तिवारी र प्रमुख प्रशासकिय अधिकृत साहले संयुक्त रुपमा खाजा तालिका विद्यालयका प्रअहरुलाई हस्तान्तरण गरेका थिए ।

पालिकाको पहिलो प्राथमिकता शिक्षा भएको बताउँदै उनले शिक्षामा भएका बेथितीको अन्त्य गर्ने र शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । अनुगमनका क्रममा विद्यार्थीहरुसँग पनि छलफल गर्दै अध्यक्ष तिवारीले सामुदायिक विद्यालयप्रतिको आकर्षणलाई बढाउन र शैक्षिक गुणस्तर बृद्धि गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाले यस आर्थिक वर्षमा विदेशी दातृ निकायबाट प्राप्त अनुदान रकमबाट पालिकाका १४ वटा सामुदायिक विद्यालयको लागि १०० (एक सय) दिनको खाजाको लागि मात्रै ५० लाख रुपैया भुक्तानी गरेको छ । प्रति विद्यार्थी रु १५ को दरले एम.आई.एस. डाटा अनुसार प्रत्येक विद्यालयलाई १०० दिनको खाजाको रकम उपलब्ध गराइएमा सो विद्यालयमा बालबालिकाहरु उपस्थित नहुने गरेको कारण सो बापतको रकम हिनामिना गर्ने गरिएको गुनासो आएपछि अनुगमन गरिएको थियो ।
अनुगमन टोली नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गर्दाैल, राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वाभाठा, स्काउट निम्न माध्यमिक विद्यालय इटिहाई, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हसवा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्रसौनीभाठा, झौवागुठी लगायतका विद्यालयमा पुगेको थियो ।









प्रतिक्रिया दिनुहोस् !