वीरगन्ज / नेपालका घरपालुवा हात्ती भारततर्फ तस्करी हुने गरेको पाइएको छ । नेपालको वनजंगल क्षेत्रमा रहेका व्यक्तिहरुले पालेको घरपालुवा हात्ती भारततर्फ लगेर विक्री गर्ने गरेको पाइएको हो । नेपाल भारतसँग सिमा जोडिएको पर्सा जिल्लाको पकहामैनपुर स्थितबाट भारततर्फ बेच्नका लागि लगि रहेको अवस्थामा २ वटा घरपालुवा हात्ती नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ घरपालुवा हात्तीको तस्करी हुने गरेको पाइएको हो ।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा शनिबार दिउँसो करिब १२ बजेको समयमा पकहामैनपुर गाउँपालिका वडा नं. ५ पोखरिया टोलबाट भारततर्फ बेच्नका लागि लगि रहेको अवस्थामा २ वटा हात्तीलाई नियन्त्रणमा लिएको छ भने हात्ती लिएर जाने २ जना माउते र एक जना व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माउतेद्वय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८ जितपुर बस्ने बिकन महतोका ६० वर्षीय छोरा बुद्धिराम महतो तथा सोही ठाउँ बस्ने डमर बहादुर कुमालको ४० वर्षीय छोरा राजु कुमाल रहेका छन् भने व्यापारी पर्सा जिल्ला पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने अफताब आलम हुसेनको ३५ वर्र्षीय छोरा सफरोज आलम रहेका छन् ।

पर्साको पकाहा मैनपुर गाउँपालिका– ५ पोखरीया टोलबाट प्रहरीले भारतमा तस्करी गर्न राखिएको अवस्थामा दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार चितवनको सौराहा क्षेत्रबाट घरपालुवा हात्तीहरू बेच्नका लागि तस्करहरुले भारतको पञ्जाब र यूपी प्रदेशमा लगेर बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा प्रहरीले पर्साको सीमावर्ती क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटीएको प्रहरी टोली शनिवार दिउँसो पकहामैनपुर गाउँपालिका ५ पोखरीया टोलमा पुग्दा तस्करहरुले दुई वटा हात्ती सीमापार लैजादै गरेको अवस्थामा पक्राउ गरिएको बताए ।
तस्करहरुले नेपालका घरपालुवा हात्ती तस्करी गरेर भारतका विभिन्न राज्यमा पु¥याएर बिक्री गर्दै आएको खुलेको हो । तस्करहरुले नेपालबाट भारतमा लगेर एउटा हात्ती उमेर अनुसार एक देखि तीन करोड रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरी नायब उपरीक्षक खनालको भनाई छ । नियन्त्रणमा लिइएको दुवै हात्ती सहित तस्कर र माउतेहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !