वीरगंज (पर्सा), १३ मंसिर । बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज यतिबेला गम्भीर जलसङ्कटको सामना गरिरहेको छ । जलवायु परिवर्तन, बढ्दो तापक्रम, चुरे क्षेत्रको अनियन्त्रित दोहन तथा प्राकृतिक जलाधार कमजोर बन्दै जाँदा निकुञ्जभित्रका पानीका स्रोत सुक्दै गएका छन् । यसले वन्यजन्तुका लागि पानी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
६२७ दशमलव ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जका अधिकांश खहरे खोला वर्षभरि सुक्खा रहने गरेका छन् । लौकी, कामिनी, हलखोरिया र कालीदहजस्ता प्राकृतिक दहहरूमा समेत सुक्खा मौसममा पानीको सतह घट्ने गरेको छ । पानीको अभावका कारण वन्यजन्तु पानी र आहाराको खोजीमा लामो दूरीसम्म भौँतारिन बाध्य छन् ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार चुरेको फेदभन्दा दक्षिणतर्फको पाँचदेखि सात किलोमिटर क्षेत्र जलसङ्कटबाट बढी प्रभावित छ । भावर क्षेत्रको भू–बनोटका कारण वर्षाको पानी जमिनमुनि छिट्टै सोसिने हुँदा सतहमा पानी टिक्न नसक्ने उनले बताए । निकुञ्जको मुख्य आधार क्षेत्रबाट करिब १५ किलोमिटर आसपाससम्म स्थायी प्राकृतिक पानीको स्रोत छैन ।
पानीको अभावले घाँसे मैदानसमेत खुम्चिँदै गएको छ । बाघ, हात्ती, चितुवा, गौरीगाई, चित्तल, जरायो र नीलगाईलगायत वन्यजन्तु पानीको खोजीमा मध्यवर्ती क्षेत्र हुँदै मानव बस्ती नजिक पुग्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढेको छ । सन् २००९ मा चारवटा रहेको पाटे बाघको सङ्ख्या सन् २०२२ को गणनामा ४१ पुगेको छ । हाल निकुञ्जमा ३ गैँडा, १६४ गौरीगाई र ४० देखि ६० वटा जङ्गली हात्ती रहेको तथ्याङ्क छ । वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा पानी र आहाराको व्यवस्थापन झनै आवश्यक बनेको छ ।
जलसङ्कट व्यवस्थापनका लागि निकुञ्जले ३० भन्दा बढी सिमेन्टेड र ५० वटा माटोका गरी ८० वटा पोखरी निर्माण तथा सञ्चालनमा ल्याएको छ । सुक्खा मौसममा अमलेखगन्जबाट ट्याङ्करमार्फत पानी ल्याएर आधार, भेडाहा र महादेव खोलालगायत क्षेत्रमा रहेका पोखरीमा भर्ने गरिएको छ । पोखरी आसपासमा क्यामेरा ट्र्याप राखेर वन्यजन्तुको गतिविधि निगरानीसमेत गरिँदै आएको छ ।
चुरेविज्ञ नागदेव यादवले चुरे दोहन, वन विनाश, वन डढेलो र जलवायु परिवर्तनले प्राकृतिक जलाधार प्रणाली कमजोर बनाएको बताए । उनले चुरे संरक्षण, वर्षाको पानी सङ्कलन, जलाशय निर्माण, दीर्घकालीन अनुगमन तथा पानी पुनर्भरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
संरक्षणकर्मीहरूका अनुसार ट्याङ्कर र कृत्रिम पोखरी तत्कालीन समाधान भए पनि पर्सा राष्ट्रिय निकुञ्जको दीर्घकालीन संरक्षणका लागि चुरे क्षेत्र जोगाउनु र प्राकृतिक जलाधार प्रणाली पुनर्जीवित गर्नु अपरिहार्य छ ।




























प्रतिक्रिया दिनुहोस् !