वीरगंज (पर्सा), १३ मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिका–३ देकुलीमा लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । युवालाई लागूऔषध तथा अन्य सामाजिक विकृतिबाट जोगाउँदै सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रहरी, जनप्रतिनिधि, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
वडा नम्बर ३ कार्यालयको सहयोगमा शुभम साक्षी सीप विकास केन्द्र प्रा.लि.ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष माधो राउत थारुले गरेका थिए । कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक विपिन कार्कीले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने असर, यसबाट बच्ने उपाय तथा अभिभावकको जिम्मेवारीबारे जानकारी गराएका थिए ।
वडाध्यक्ष थारुले आफू निर्वाचित भएको करिब नौ वर्षको अवधिमा युवालाई कुलतबाट जोगाउने उद्देश्यले पटकपटक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । युवाहरू गलत संगत र लागूऔषध सेवनतर्फ आकर्षित हुनु समाजका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै उनले उनीहरूलाई खेलकुद, शिक्षा, सिर्जनात्मक गतिविधि तथा सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरे ।
युवाको भविष्य सुरक्षित बनाउन अभिभावक, समाज र प्रहरीको साझा भूमिका आवश्यक रहेको बताउँदै थारुले लागूऔषध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणका लागि प्रहरीसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी निरीक्षक कार्कीले लागूऔषध दुर्व्यसनले युवाको स्वास्थ्य, शिक्षा, पारिवारिक जीवन तथा सामाजिक वातावरणमा गम्भीर असर पार्ने भएकाले अभिभावकले आफ्ना छोराछोरीको व्यवहार, संगत र दैनिक गतिविधिप्रति ध्यान दिनुपर्ने बताए । विद्यालय जाने–आउने समय, साथीभाइको संगत र व्यवहारमा देखिने परिवर्तनबारे जानकारी राख्दै समयमै संवाद तथा निगरानी गर्न उनले अभिभावकलाई आग्रह गरे ।
आफू यस क्षेत्रमा आएको करिब एक महिना भएको उल्लेख गर्दै कार्कीले लागूऔषधसँग सम्बन्धित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए । स्थानीय क्षेत्रमा लागूऔषध सेवन, कारोबार वा अन्य गैरकानुनी गतिविधि भएको जानकारी पाए प्रहरीलाई सूचना दिन आग्रह गर्दै उनले प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै नियन्त्रण अभियान प्रभावकारी बन्न सक्ने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सदस्य बलिराम शुक्लाले भोजपुरी भाषामा सहभागीहरूसँग लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणका विषयमा छलफल गरेका थिए । उनले युवालाई गलत संगत र कुलतबाट टाढा रहन आग्रह गरे ।
कार्यक्रममा समाजसेवी मुना तिवारी, वडा सदस्य हैदर अन्सारी, वडा सदस्य लक्षणदेव चौधरी, सञ्चारकर्मी विनोद यादव तथा प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुरेश शाहलगायतको उपस्थिति थियो । आयोजकका अनुसार कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो । 



























प्रतिक्रिया दिनुहोस् !