जनकपुरधाम (धनुषा), १२ मंसिर । जनकपुरधाम-ढल्केवर ६ लेन व्यापारिक राजमार्गमा पैदल यात्रुको आवागमन सहज बनाउने र सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले तीनवटा आकाशे पुल निर्माण सम्पन्न भएका छन् । धनुषाको लक्ष्मीनियादेखि महेन्द्रनगरसम्मका विभिन्न स्थानमा १० करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो ।
सडक डिभिजन कार्यालय मुजेलियाका अनुसार राजमार्गमा पैदल यात्रुको चाप बढ्दै गएको र सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने भएकाले आकाशे पुल निर्माणलाई प्राथमिकता दिइएको हो । यसैबीच, पैदल यात्रुको बढी आवतजावत हुने राजमार्गका थप तीन स्थानमा आकाशे पुल निर्माण भइरहेको छ । लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया बजार तथा क्षीरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माणको काम जारी छ ।
सडक डिभिजन कार्यालय मुजेलियाका डिभिजनल इन्जिनियर दारोगा प्रसादका अनुसार यी तीनवटा पुल निर्माणका लागि १९ करोड ५० लाख रुपैयाँ खर्च हुने गरी काम भइरहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणाधीन पुलमध्ये लक्ष्मीनिया बजारमा ३ करोड ४२ लाख, महिला विकास चोकमा ३ करोड ३५ लाख र सखुवा चोकमा ३ करोड ४५ लाख रुपैयाँ लागत छुट्याइएको छ ।
तीनवटै पुलको उचाइ ५ दशमलव ६ मिटर, लम्बाइ २९ दशमलव ४ मिटर र चौडाइ ३ मिटर रहनेछ । मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने प्रमुख मार्गका रूपमा रहेको जनकपुर–ढल्केवर सडकमा पछिल्लो समय सवारीसाधनको चाप बढ्दै गएको छ । व्यस्त राजमार्गमा पैदल यात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न समस्या हुँदै आएको छ । विशेषगरी बजार क्षेत्र र चोकहरूमा सडक वारपार गर्दा दुर्घटनाको जोखिम रहने गरेको छ ।
आकाशे पुल निर्माणले पैदल यात्रुलाई सवारीसाधनको आवागमन प्रभावित नगरी सुरक्षित रूपमा सडक पार गर्न सहज हुने सडक डिभिजन कार्यालयको विश्वास छ । डिभिजनल इन्जिनियर प्रसादका अनुसार पुलले पैदल यात्रुको सुरक्षा र आवागमनमा सहजता ल्याउनुका साथै व्यस्त राजमार्गको व्यवस्थापन तथा सौन्दर्यकरणमा समेत सहयोग पुर्याउनेछ । थप तीनवटा पुल निर्माण सम्पन्न भएपछि जनकपुर–ढल्केवर व्यापारिक राजमार्गमा पैदल यात्रुको आवागमन अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस् !