जनकपुरधाम (धनुषा), १२ मंसिर । नेपालमा अवैध हुन्डी कारोबारको सञ्जाल मधेश प्रदेशमा सबैभन्दा बढी फैलिएको देखिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘हुन्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२६’ अनुसार हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेश प्रदेशका जिल्लामा केन्द्रित छन् ।
प्रतिवेदनले मधेशलाई हुन्डी कारोबारको उच्च जोखिम रहेको क्षेत्रका रूपमा देखाएको छ । प्रदेशभित्र पनि पूर्वी तराईका जिल्लामा यस्तो कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधि बढी पाइएको छ । जिल्लागत तथ्यांकमा सिरहा पहिलो स्थानमा छ । नमुना विश्लेषणमा सिरहाका १०.५ प्रतिशत व्यक्ति हुन्डीसम्बन्धी शंकास्पद कारोबारसँग जोडिएको पाइएको छ ।
सप्तरीमा १० प्रतिशत, सुनसरीमा ९ प्रतिशत, धनुषामा ८ प्रतिशत र महोत्तरीमा ७.५ प्रतिशत हिस्सा देखिएको छ । त्यसैगरी बारामा ५.५ प्रतिशत र रौतहटमा ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत रूपमा मधेशपछि कोशीमा १६ प्रतिशत र लुम्बिनीमा १२.५ प्रतिशत शंकास्पद कारोबारसँग सम्बन्धित व्यक्ति तथा संस्थाको हिस्सा रहेको छ । बागमतीमा ८.५ प्रतिशत, गण्डकीमा ७ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिममा समान १.५ प्रतिशत रहेको छ । यस तथ्यांकले विशेषगरी मधेशका सीमावर्ती जिल्लामा अवैध वित्तीय कारोबारको जोखिम उच्च रहेको संकेत गरेको छ ।
नेपालमा हुन्डी कारोबार नियन्त्रणका लागि अनुसन्धान र कानुनी कारबाहीको क्रम पनि बढ्दै गएको देखिन्छ । नेपाल प्रहरीको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार यस अवधिमा हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् । तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दाको अन्तिम फैसला भएको छ । अनुसन्धान तथा मुद्दाको प्रक्रियाबाट ३३१ जना हुन्डी कारोबारमा संलग्न रहेको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
पाँच वर्षको अवधिमा हुन्डीसम्बन्धी मुद्दामा ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । यस क्रममा ३ अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको र १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरिएको छ। अदालतको फैसलाबाट २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत भएको प्रतिवेदनले जनाएको छ ।
वर्षगत तथ्यांक हेर्दा हुन्डी कारोबारविरुद्धको अनुसन्धान पछिल्ला वर्षमा तीव्र बनेको छ । आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान सुरु भएकामा २०७९/८० मा २७ र २०८०/८१ मा ३३ पुगेका थिए । आर्थिक वर्ष २०८१/८२ मा भने अनुसन्धानको संख्या बढेर ६० पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म थप ५९ वटा अनुसन्धान अघि बढाइएको छ ।
वित्तीय जानकारी इकाइमा प्राप्त शंकास्पद कारोबारका विवरणमध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकको रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्राप्त विवरण विश्लेषण गर्दा वाणिज्य बैंकले मात्रै १ हजार ५०३ वटा कारोबारलाई शंकास्पद भन्दै रिपोर्ट गरेका छन् । यो कुल विवरणको ८९.८९ प्रतिशत हो ।
विकास बैंकबाट १२० वटा, वित्त कम्पनीबाट २८ वटा, रेमिट्यान्स कम्पनीबाट १३ वटा तथा भुक्तानी सेवा प्रदायक र सञ्चालकबाट आठवटा शंकास्पद कारोबारको विवरण प्राप्त भएको छ । प्रतिशतका आधारमा विकास बैंकको हिस्सा ७.१८, वित्त कम्पनीको १.६७, रेमिट्यान्स कम्पनीको ०.७८ तथा भुक्तानी सेवा प्रदायकको ०.४८ रहेको छ ।
सरकारले २०८१ पुस १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हुन्डीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको छुट्टै पूर्वकसुरका रूपमा वर्गीकरण गरेको थियो । त्यसपछि वित्तीय जानकारी इकाइले हुन्डी कारोबार पहिचान गर्न छुट्टै सूचक तयार गरी शंकास्पद विवरण संकलन र विश्लेषण गर्न थालेको हो ।
प्रतिवेदनले हुन्डी कारोबारमा संलग्न व्यक्तिको उमेरगत अवस्थासमेत विश्लेषण गरेको छ । प्राप्त १ हजार ६७२ वटा रिपोर्टमध्ये २०० वटा नमुना छनोट गरी गरिएको अध्ययनमा २५ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिको हिस्सा सबैभन्दा बढी अर्थात् ३९ प्रतिशत रहेको छ।
त्यसैगरी ३५ देखि ४४ वर्ष उमेर समूहका २६.५ प्रतिशत र १८ देखि २४ वर्षका १८ प्रतिशत व्यक्ति शंकास्पद कारोबारसँग सम्बन्धित देखिएका छन्। ४५ देखि ५४ वर्ष उमेर समूहका १२ प्रतिशत, ५५ देखि ६४ वर्षका २.५ प्रतिशत, ६५ वर्षभन्दा माथिका १.५ प्रतिशत र १८ वर्षमुनिका ०.५ प्रतिशत रहेका छन् ।
पेसागत आधारमा विश्लेषण गर्दा ५१.५ प्रतिशतले आफ्नो पेसा व्यवसाय उल्लेख गरेका छन्। तलब पाउने कर्मचारीको हिस्सा १३ प्रतिशत, कृषि पेसामा संलग्नको ११ प्रतिशत र विद्यार्थीको ९ प्रतिशत रहेको छ। वैदेशिक रोजगारीमा रहेका ७ प्रतिशत, गृहिणी ५.५ प्रतिशत तथा लगानीकर्ता, बेरोजगार र अवकाश प्राप्त व्यक्तिको हिस्सा समान १ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विशेषगरी विद्यार्थी र गृहिणीका नाममा रहेका बैंक खातासमेत शंकास्पद कारोबारमा प्रयोग भएको पाइनुले वित्तीय निगरानीको आवश्यकता थप बढाएको छ । प्रतिवेदनले यस्ता खाताहरू वास्तविक खातावालाको सट्टा अन्य व्यक्तिले प्रयोग गर्ने वा तेस्रो पक्षको नाममा रकम कारोबार गर्ने माध्यम बनेको हुन सक्ने औँल्याएको छ ।
संस्थागत रूपमा हेर्दा खुद्रा व्यापार र रेमिट्यान्स सब–एजेन्ट व्यवसाय हुन्डी कारोबारको उच्च जोखिममा देखिएका छन् । शंकास्पद कारोबारसँग जोडिएका फर्ममध्ये ४३ प्रतिशत खुद्रा व्यापार र ४१.५ प्रतिशत रेमिट्यान्स सब–एजेन्ट व्यवसायसँग सम्बन्धित छन्। यी दुई क्षेत्रको हिस्सा मात्रै ८४ प्रतिशत पुगेको छ । विशेषगरी रेमिट्यान्स सब–एजेन्ट व्यवसायमार्फत नगद रकम संकलन र भुक्तानी हुने भएकाले यस्तो क्षेत्रको निगरानी प्रभावकारी बनाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
अर्कोतर्फ, बैंक खाता खोलेको छोटो समयमै हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा संलग्न हुने प्रवृत्तिसमेत देखिएको छ । विश्लेषणअनुसार करिब ४० प्रतिशत व्यक्ति खाता खोलेको एक वर्षभित्रै यस्तो कारोबारसँग जोडिएका थिए । त्यसमध्ये ९.५ प्रतिशत तीन महिनाभित्र, १३.५ प्रतिशत तीनदेखि छ महिनाभित्र र १६.५ प्रतिशत छ महिनादेखि एक वर्षभित्र शंकास्पद कारोबारमा संलग्न भएको पाइएको छ ।
प्रतिवेदनले हुन्डी कारोबार नेपालभित्र मात्रै सीमित नरहेको पनि संकेत गरेको छ । यस्तो कारोबारसँग सम्बन्धित व्यक्तिहरूमा नेपाली, भारतीय र चिनियाँ नागरिकको संख्या बढी देखिएको छ । यसले अवैध रकम ओसारपसारमा सीमापार सञ्जालको सम्भावित सम्बन्ध रहेको देखाउँछ ।
मधेश प्रदेशका जिल्लामा शंकास्पद कारोबारको हिस्सा आधाभन्दा बढी देखिनु र पछिल्ला वर्षमा अनुसन्धानको संख्या बढ्दै जानुले यस क्षेत्रमा वित्तीय अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ । विशेषगरी सिरहा, सप्तरी, धनुषा र महोत्तरीजस्ता जिल्लामा बैंकिङ कारोबारको निगरानी, रेमिट्यान्स व्यवसायको नियमन र अवैध रकम ओसारपसार नियन्त्रणका उपायलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।




























प्रतिक्रिया दिनुहोस् !