वीरगंज (पर्सा), १२ मंसिर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशका खेलाडी साहेब गिरीले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जितेका छन् । कर्णाली प्रदेशमा सम्पन्न प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका गिरीले पदक हासिल गर्दै मधेश प्रदेश, पर्सा जिल्ला र वीरगंजको खेलकुद क्षेत्रको प्रतिष्ठा बढाएका हुन् ।
राष्ट्रिय स्तरका प्रतिस्पर्धीहरूसँग भिड्दै गिरीले देखाएको प्रदर्शनले उनको मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफललाई राष्ट्रिय मञ्चमा स्थापित गरेको छ । वीरगंजस्थित मसल बैंक जिम क्लबमा नियमित प्रशिक्षण गर्दै आएका उनले स्थानीय स्तरबाट सुरु गरेको खेल यात्रा राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सफलतासम्म पुर्याएका छन् ।
उनको यो उपलब्धिलाई व्यक्तिगत सफलतामा मात्र सीमित नभई वीरगंजमा खेलकुदको सम्भावना र स्थानीय खेलाडीको क्षमताको प्रमाणका रूपमा समेत हेरिएको छ । सीमित स्रोतसाधन र निरन्तर अभ्यासका बीच राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर पदक जित्नुले अन्य युवा खेलाडीलाई पनि खेल क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
गिरीको सफलतामा नियमित प्रशिक्षण, कडा मेहनत, आत्मअनुशासन र प्रशिक्षकहरूको मार्गदर्शनले महत्वपूर्ण भूमिका खेलेको छ । उनको पदकसँगै मधेश प्रदेशको खेलकुद क्षेत्रमा थप सम्भावना र उत्साह थपिएको छ ।




























प्रतिक्रिया दिनुहोस् !