जनकपुरधाम (धनुषा), १२ मंसिर । सञ्चालकलाई नै संस्थाबाट बाहिर निकालेर अर्कै व्यक्तिले स्वामित्व दाबी गरेपछि जनकपुरधामस्थित जनकपुर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर विवादमा परेको छ । संस्थाको सञ्चालन अधिकार, फार्मेसी तथा प्रयोगशाला सञ्चालन र जग्गा प्रयोगको विषयलाई लिएर विवाद चर्किएको हो । दशरथ तलाउअगाडि रामजानकी मन्दिरको जग्गा भाडामा लिएर सञ्चालन हुँदै आएको उक्त स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक डा. शशि शेखर अधिकारीले संस्था कब्जा गरेको सञ्चालक भरत यादवले आरोप लगाएका छन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै यादवले आफूलाई संस्थाबाट बाहिर निकालेर डा. अधिकारीले स्वास्थ्य संस्थामाथि आफ्नो स्वामित्व दाबी गरेको बताए । यादवका अनुसार गत भदौ ६ गते डा. अधिकारीसँग विवाद भएपछि व्यक्तिगत रिसइबीका कारण आफ्नो औषधि पसल सञ्चालनमा अवरोध सिर्जना गरिएको थियो । त्यसपछि उनले भदौ १८ गते उच्च अदालत जनकपुरधाममा निषेधाज्ञाको आदेश माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले भदौ २२ गते अन्तरिम आदेश जारी गरेको यादवले जानकारी दिए ।
अदालतको आदेशमा जग्गा भाडामा लिने सम्झौता गरी नियमित भाडा बुझाउँदै आएको र फार्मेसीसमेत यादवकै नाममा दर्ता रहेको देखिएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म औषधि पसल सञ्चालनमा अवरोध नगर्न तथा कुनै किसिमको हानि–नोक्सानी नगर्न भनिएको उनको दाबी छ । तर, अदालतको आदेश हुँदाहुँदै पनि औषधि पसलको एकातर्फ प्लाई लगाएर सञ्चालनमा अवरोध गरिएको यादवले आरोप लगाए । यस विषयमा आवश्यक प्रमाणसहित प्रहरीमा उजुरी गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
त्यस्तै, सेन्टरभित्र यादवसँगको सम्झौताअनुसार प्रयोगशाला सञ्चालन गर्दै आएका सुमितकुमार साहले आफूलाई जानकारी नै नदिई प्रयोगशालामा तालाबन्दी गरिएको आरोप लगाए। सम्झौताअनुसार सञ्चालन भइरहेको प्रयोगशालामा तालाबन्दी गरिएपछि आफ्नो व्यवसाय प्रभावित भएको उनले बताए ।
यसैबीच, रामजानकी मन्दिरका महन्थले पनि उक्त जग्गामा स्वास्थ्य संस्था सञ्चालनका लागि भरत यादवसँग सम्झौता गरिएको स्पष्ट पारेका छन् । डा. अधिकारी चिकित्सकीय सेवा प्रदान गर्न आउने गरे पनि अहिले संस्थामाथि आफ्नै स्वामित्व दाबी गर्दै कब्जा गरेको महन्थको आरोप छ । यस विषयमा आफूले समेत प्रहरीमा औपचारिक निवेदन दिँदा कुनै कारबाही नभएको उनले बताए । स्वास्थ्य संस्थाको स्वामित्व, सञ्चालन अधिकार, फार्मेसी तथा प्रयोगशाला सञ्चालन र मन्दिरको जग्गा प्रयोगको विषयलाई लिएर सञ्चालक, चिकित्सक, प्रयोगशाला सञ्चालक तथा मन्दिरका महन्थबीच विवाद बढेको छ ।




























प्रतिक्रिया दिनुहोस् !