जनकपुरधाम (धनुषा), ८ मंसिर । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई प्रत्यक्ष रेलमार्गले जोड्ने सेवा जनकपुरधाम आइपुगेको छ । भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामबीच सुरु भएको ‘सरयू–कमला एक्सप्रेस’ ले दुई देशका धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको यो रेल सेवाले दुवै धार्मिक सहरबीच तीर्थयात्रा र पर्यटन प्रवद्र्धनको नयाँ ढोका खोलेको छ ।
अयोध्याबाट ६०४ किलोमिटर दूरी तय गर्दै १९ घण्टाको यात्रापछि रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसन पुगेको हो । रेल आइपुग्नुअघि नै स्वागतका लागि स्थानीयवासीको ठूलो उपस्थिति थियो । रेल स्टेसनमा प्रवेश गरेसँगै ‘जय सियाराम’ को जयघोष सहित यात्रुहरूको स्वागत गरिएको थियो ।
भारतबाट आएका तीर्थयात्रीलाई सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले पनि यात्रुहरूलाई स्वागत गरे। नेपाल रेल्वे कम्पनीले स्वागत कार्यक्रमलाई व्यवस्थित बनाउन स्टेसन परिसरमा विशेष पण्डाल निर्माण गरेको थियो ।
‘हाम्रो माता सीताको जन्मभूमि मिथिलामा यहाँहरूलाई स्वागत छ’ भन्ने सन्देशसहितको ब्यानर राखिएको स्टेसन परिसरमा भजनकीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । बटुकहरूले स्वस्तिवाचन गरी परम्परागत शैलीमा स्वागत गरेका थिए भने यात्रुहरूलाई खाजाको प्याकेटसमेत वितरण गरिएको थियो ।
रेलसँगै हवाई सम्पर्क र सीमा आवागमन सहज बनाउन माग
रेल सेवाको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यसले मिथिलावासीको लामो समयदेखिको चाहना पूरा गरेको बताए । उनले यसका लागि नेपाल र भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै अब जनकपुरधाम र अयोध्याबीच हवाई सम्पर्कसमेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले दुवै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सञ्चालनको सम्भावनामा ध्यान दिन आग्रह गरे । मुख्यमन्त्री यादवले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रेल सेवा मात्र पर्याप्त नहुने भन्दै सडकमार्गबाट आउने भारतीय पर्यटकले सीमा क्षेत्रमा भन्सार प्रक्रियाका कारण भोग्नुपरेको कठिनाइ हटाउनुपर्ने बताए । भारतीय पर्यटक बोकेर आउने बसलाई २४ घण्टासम्म भन्सार छुट दिने व्यवस्था मिलाउन उनले नेपाल सरकारसँग माग गरे ।
नेपाल र भारतबीचको सम्बन्धलाई ‘बेटी–रोटी’ को सम्बन्धका रूपमा उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रका नागरिकलाई पारिवारिक तथा सामाजिक प्रयोजनका लागि आवतजावत गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । विवाहलगायत सामाजिक सम्बन्धका कारण सीमापारि जानुपर्ने नागरिकले अनावश्यक कठिनाइ भोग्न नपर्ने व्यवस्था दुवै देशले मिलाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा संघीय मन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबीचको सम्बन्धलाई धार्मिक आस्थामा मात्र सीमित गर्न नमिल्ने बताए । त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएर माता सीतासँग विवाह गरेको धार्मिक मान्यताको स्मरण गर्दै उनले यी दुई सहरबीच पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे ।
उनका अनुसार राम जनकपुरका ज्वाइँ भएकाले अयोध्या र जनकपुरधामबीचको सम्बन्धलाई दुई सहरको सामान्य आवागमनभन्दा माथि उठेर हेर्नुपर्छ । रेल सेवाले नेपाल र भारतका नागरिकबीचको आत्मीयता तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।
जानकी मन्दिर दर्शनपछि तीर्थयात्री अयोध्या फर्किए
मंगलबार जनकपुरधाम आइपुगेको रेलमा करिब एक हजार भारतीय तीर्थयात्री सहभागी थिए। उनीहरूसँगै भारतीय रेल्वेका उच्च अधिकारी तथा सुरक्षाकर्मीसमेत आएका थिए । टोलीमा एडिसनल डिभिजनल रेल्वे म्यानेजर सन्नी सिन्हा, सिनियर डिभिजनल कमर्सियल म्यानेजर अमृतेश कुमार र डिभिजनल अपरेसन्स म्यानेजर अरविन्दु कुमारलगायत अधिकारी थिए ।
तीर्थयात्रीलाई जानकी मन्दिर दर्शन गराउन स्थानीय प्रशासनले एक दर्जनभन्दा बढी बसको व्यवस्था गरेको थियो। उनीहरूलाई मन्दिरसम्म पुर्याउनेदेखि पूजाआजा र दर्शन व्यवस्थापनसम्म विशेष प्रबन्ध मिलाइएको थियो । जानकी मन्दिर दर्शन सकेर रेल्वे स्टेसन फर्किएका यात्रुहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । भोजनपछि उनीहरू दिउँसो १ बजे सोही रेलमार्फत अयोध्या फर्किएका थिए ।
अर्को सातादेखि सातामा एकपटक नियमित सेवा सञ्चालनको तयारी
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले आगामी सातादेखि जनकपुरधाम र अयोध्याबीच नियमित रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक योजनाअनुसार सातामा एकपटक रेल सञ्चालन हुनेछ ।
उनका अनुसार यो सेवा सञ्चालनमा आएपछि जनकपुरधाम भारतको धार्मिक पर्यटन सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिनेछ । अयोध्याबाट जनकपुरधाम आउने र यहाँबाट अयोध्या जाने यात्रुका लागि रेलमार्ग सहज विकल्प बन्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न भारतीय सहर हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
६०४ किलोमिटरको यात्राका क्रममा रेल उत्तर प्रदेश र बिहारका विभिन्न स्थान हुँदै नेपाल प्रवेश गरेको थियो । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम पुगेको थियो । १७ वटा डिब्बा रहेको रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।
पर्यटक ल्याउने मात्र होइन, बसाइ लम्ब्याउनु मुख्य चुनौती
अयोध्या–जनकपुरधाम रेल सेवाले धार्मिक पर्यटनको सम्भावना बढाए पनि यसको वास्तविक आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्याउनु चुनौतीपूर्ण देखिएको छ । भारतबाट आउने तीर्थयात्रीलाई जानकी मन्दिर दर्शन गराएर केही घण्टामै फर्काउनेभन्दा जनकपुरधाम र आसपासका पर्यटकीय स्थलमा घुम्ने वातावरण बनाउनुपर्ने स्थानीय व्यवसायीहरूको सुझाव छ ।
जनकपुरधाम–४ का व्यवसायी रामदुलार मण्डलका अनुसार पर्यटकलाई धनुषाधाम, जलेश्वर, मिथिला चित्रकलाका गाउँ, ऐतिहासिक पोखरी तथा ग्रामीण मिथिला जीवनशैलीसँग परिचित गराउन सके उनीहरूको बसाइ अवधि बढाउन सकिन्छ । यसले होटल, यातायात, रेस्टुरेन्ट, हस्तकला तथा स्थानीय व्यापारमा प्रत्यक्ष लाभ पुर्याउने उनको भनाइ छ ।
उनले पर्यटकलाई आकर्षित गर्न होटल तथा अतिथि सत्कार सेवाको गुणस्तर सुधार, सरसफाइ, यातायात व्यवस्थापन, बहुभाषिक सूचना प्रणाली र सुरक्षा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, अयोध्या र जनकपुरधामलाई रामायण सर्किटसँग जोडेर संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्न सके भारतीय तथा अन्य विदेशी पर्यटकलाई जनकपुरधामसम्म ल्याउन थप सहज हुने देखिन्छ । यसका लागि नेपाल र भारतका पर्यटन निकाय, रेल्वे कम्पनी, स्थानीय सरकार तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक छ ।
पूर्वशिक्षक रामसेवक महतोले रेल सेवालाई दीर्घकालीन रूपमा सफल बनाउन पर्यटनसँग सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । उनका अनुसार यात्रुको आवागमन बढ्नुका साथै स्थानीय व्यापार र रोजगारीका अवसर सिर्जना गर्न यो सेवा महत्वपूर्ण माध्यम बन्न सक्छ ।
रामायण सर्किटसँग जोडिए जनकपुरधामको पर्यटनले गति लिने
अयोध्या र जनकपुरधामबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुले धार्मिक पर्यटनको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ । रामायणकालीन धार्मिक मान्यता र सांस्कृतिक इतिहाससँग जोडिएका यी दुई सहर अब यातायातका हिसाबले पनि नजिकिएका छन् ।
अयोध्यामा राम मन्दिर निर्माणपछि त्यहाँ पुग्ने भारतीय तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको सन्दर्भमा जनकपुरधामलाई पनि उनीहरूको धार्मिक यात्राको महत्वपूर्ण गन्तव्य बनाउन सकिने सम्भावना छ । माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाममा रहेका जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, धनुषसागर र गंगासागरसहितका धार्मिक तथा ऐतिहासिक स्थललाई अयोध्या यात्रासँग जोड्न सकिन्छ ।
यसका लागि व्यवस्थित पर्यटन प्याकेज, स्थानीय गाइड, गुणस्तरीय होटल तथा यातायात सेवा र पर्यटकीय पूर्वाधारको विकास आवश्यक हुनेछ । मिथिला चित्रकला, स्थानीय खानपान, संस्कृति र ग्रामीण जीवनशैलीलाई समेत पर्यटनसँग जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिनेछ । रेल सेवा नियमित भएपछि तीर्थयात्रीको आवागमन मात्र नभई होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धले जोडिएका अयोध्या र जनकपुरधामबीचको रेल सम्पर्कलाई केवल यातायात सुविधाका रूपमा मात्र नहेरी आर्थिक तथा पर्यटन विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने देखिन्छ । त्यसका लागि सेवा नियमित र भरपर्दो बनाउनुका साथै जनकपुरधामलाई पर्यटकको गन्तव्यका रूपमा विकास गर्न स्थानीय तहदेखि संघीय सरकारसम्मको सक्रियता आवश्यक हुनेछ ।


























प्रतिक्रिया दिनुहोस् !