वीरगंज (पर्सा), २० कात्तिक । नेपाल टेलिकमको सिमकार्ड लिन अब कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने भएको छ । जिल्ला हुलाक कार्यालय पर्साले सेवाग्राहीको घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड पुर्याउने सेवा सुरु गरेसँगै सर्वसाधारणले घरबाटै यो सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार पर्सामा शुक्रबारदेखि सिमकार्ड वितरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने तथा हुलाक सेवालाई थप उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय पर्साका यसवन्त ठाकुरले जानकारी दिए ।
सेवा सुरु भएकै दिन वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरण कुमारी चौहानले घरमै नेपाल टेलिकमको सिमकार्ड प्राप्त गरेकी छन् । हुलाक कार्यालयका कर्मचारी उनको निवासमै पुगेर सिमकार्ड हस्तान्तरण गरेका थिए ।
यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकमको अनलाइन फारम भरेपछि हुलाक सेवामार्फत सिमकार्ड आफ्नो घरमै प्राप्त गर्न सक्नेछन् । यसले सानो कामका लागि पनि सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने समय, खर्च र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
जिल्ला हुलाक कार्यालय पर्साका हुलाक अधिकृत नमनाथ यादवले हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले नागरिकलाई सरल, सहज र सुलभ सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने बताए ।
परम्परागत रूपमा चिठीपत्र तथा पार्सल वितरणमा सीमित हुँदै आएको हुलाक सेवालाई आधुनिक आवश्यकताअनुसार विस्तार गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ । सरकारी निकायबीचको सहकार्यबाट घरदैलोमै सेवा पुर्याउने यो पहलले सार्वजनिक सेवाप्रतिको नागरिकको पहुँच र विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




























प्रतिक्रिया दिनुहोस् !