वीरगंज (पर्सा), २० कात्तिक । बालबालिकाको संरक्षण, सुधार र सुरक्षित पुनःस्थापनाको जिम्मेवारी बोकेको वीरगंजस्थित बाल सुधार गृहभित्रै एक बालकमाथि हिंसात्मक घटना भएको खुलासा भएको छ । सुधार गृहमा रहेका एक बालकको औँला काटिएको घटनाले त्यहाँको सुरक्षा व्यवस्था र बालबालिकाको संरक्षणमा जिम्मेवार निकायको संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
घटनामा प्रहरी तथा सुधार गृहभित्रै रहेका अन्य बालकको संलग्नता रहेको पीडितका परिवारजनले आरोप लगाएका छन् । परिवारका अनुसार सुधार गृहको आन्तरिक वातावरणमै बालकमाथि यस्तो हिंसात्मक घटना भएको हो । बालबालिकालाई सुरक्षित राख्नुपर्ने स्थानमै उनीहरू असुरक्षित हुनुपर्ने अवस्था आउनु चिन्ताजनक भएको परिवारको भनाइ छ ।
घटनापछि सुधार गृहभित्र बालबालिकाको सुरक्षा कसरी सुनिश्चित गरिएको छ र त्यहाँ हुने गतिविधिको निगरानी तथा नियन्त्रण कसले गरिरहेको छ भन्ने प्रश्नसमेत उठेको छ । विशेषगरी प्रहरीको संलग्नता रहेको परिवारको आरोप सार्वजनिक भएपछि घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।
पीडित परिवारले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी देखिने जोसुकैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । सुधार गृहभित्र बालकमाथि भएको हिंसालाई सामान्य घटनाका रूपमा नलिई जिम्मेवार पक्षको भूमिका र सुरक्षा व्यवस्थाको समेत गम्भीर समीक्षा हुनुपर्ने उनीहरूको माग छ । घटनाबारे सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया लिइएको जनाइएको छ ।
बाल सुधार गृह बालबालिकालाई दण्डित गर्नेभन्दा उनीहरूको व्यवहार सुधार, संरक्षण र भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिने संवेदनशील संस्था हो । त्यहीँभित्र बालकमाथि शारीरिक हिंसा हुने अवस्था आउनुले संस्थाको व्यवस्थापन, सुरक्षा निगरानी र बाल अधिकारको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ ।
अब सम्बन्धित निकायले घटनालाई ढाकछोप गर्ने वा औपचारिकतामा सीमित राख्नेभन्दा निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ । पीडित बालकलाई आवश्यक संरक्षण र न्याय सुनिश्चित गर्नुका साथै सुधार गृहमा रहेका अन्य बालबालिकाको सुरक्षाको प्रत्याभूति दिलाउनु पनि उत्तिकै आवश्यक छ ।




























प्रतिक्रिया दिनुहोस् !