वीरगंज (पर्सा), २० कात्तिक । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको इभेन्ट कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँच टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी टोलीहरूले रंगोलीमार्फत तिहारको सांस्कृतिक महत्त्व, परम्परा र मौलिकतालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको नतिजाअनुसार नर्सिङ कलेज टोली प्रथम, आईबीएमएस टोली द्वितीय र नर्सिङ स्टाफ टोली तृतीय भएका छन्। त्यसैगरी प्रशासन टोली चौथो र डेन्टल टोली पाँचौँ भएका छन् । कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचान, सिर्जनशीलता र सौन्दर्यको महत्वपूर्ण अभिव्यक्ति भएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विभिन्न विभागमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य र संस्थाप्रतिको अपनत्व बढाउन सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
प्रतियोगिताको मूल्याङ्कन उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ र प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल सम्मिलित पाँच सदस्यीय निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई समेत सान्त्वना पुरस्कारस्वरूप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र कलेजका अध्यक्ष अन्सारीले वितरण गर्नुभएको थियो ।
कार्यक्रमको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत (CIO) इन्जिनियर प्रदीप कुमार चौधरीले गर्नुभएको थियो। कमिटीको सदस्य–सचिवमा ऋचा सिंह तथा सदस्यहरूमा जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेल रहनुभएको थियो । प्रतियोगिताले कर्मचारीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै संस्थाभित्र सांस्कृतिक एकता, आपसी सम्मान र सहकार्यको भावना मजबुत बनाएको आयोजकले जनाएको छ ।




























प्रतिक्रिया दिनुहोस् !