गौर (रौतहट), १९ कात्तिक । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि मंगलबार राति पाँच राउन्ड गोली प्रहार भएको हो ।
स्थानीयका अनुसार राति करिब ९ बजेर १५ मिनेटमा गढवा गाउँस्थित पानी ट्यांकी नजिक रहेका यादवलाई लक्षित गरी गोली चलाइएको थियो । अचानक गोली चलेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो । गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले गरेको सिटी स्क्यान परीक्षणका क्रममा उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ रहेका छन् । घाइतेको अवस्था गम्भीर रहे पनि चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको डीएसपी गौतमले जानकारी दिए । युवकमाथि गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
गोली प्रहारको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले सम्भावित स्थानमा खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ । सदरमुकाम गौरकै बस्तीमा भएको गोली प्रहारको घटनाले स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस् !