वीरगंज (पर्सा), १६ कात्तिक । वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई स्थानीय युवाहरूले रंगेहात नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । तर जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रहरी टोली आफैँले चोरीको मोटरसाइकलसहित आरोपितलाई पक्राउ गरेको दाबी गरेको छ । स्थानीयले समातेर बुझाएको व्यक्तिको पक्राउको श्रेयसमेत प्रहरीले आफ्नै नाममा लेख्न पछि परेन ।
पछिल्लो समय वीरगंजमा मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी पार्किङ गरेर राखिएका दुईपांग्रे सवारीसाधन असुरक्षित बन्दै जाँदा स्थानीयमा त्रास बढेको छ । यसअघि पनि सोही क्षेत्रबाट २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । तर महिनौँ बितिसक्दा पनि उक्त मोटरसाइकलको अवस्था र चोरबारे कुनै जानकारी सार्वजनिक हुन सकेको छैन ।
यही घटनापछि सतर्क बनेका स्थानीयले मोटरसाइकल चोरी नियन्त्रण गर्न निगरानी बढाएका थिए । सोही क्रममा वीरगंज महानगरपालिका–१६ स्थित लिंकरोडमा सोमबार बिहान मोटरसाइकलको लक तोडेर चोरी गर्दै गरेको अवस्थामा बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरीलाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा प्रष्टै देख्न सकिन्छ, ‘मसल बैंकमा जिम गर्न पुगेका युवाहरूले मोटरसाइकल चोरी भइरहेको देखेपछि तत्काल हस्तक्षेप गरी चौधरीलाई रंगेहात समातेका थिए । घटनास्थलमा भीड जम्मा हुन थालेपछि उनीहरूले आरोपितलाई प्रहरीको जिम्मा लगाए ।’ घटनासँग सम्बन्धित भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
चोरी भएको मोटरसाइकल वीरगंज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको रातो–कालो रङको २२० सीसीको पल्सर रहेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साले कात्तिक १६ गते जारी गरेको विज्ञप्तिमा घटनाको विवरण फरक ढंगले प्रस्तुत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लक तोडी डोर्याउँदै भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित राकेश चौधरीलाई नियन्त्रणमा लिएको हो ।’
प्रहरीको विज्ञप्तिले प्रहरी टोलीले नै घटनास्थलबाट आरोपितलाई नियन्त्रणमा लिएको अर्थ लाग्ने विवरण सार्वजनिक गरेको छ । जबकि स्थानीय युवाहरूले नै चोरलाई समातेर प्रहरीको जिम्मा लगाएका हुन् । यसले प्रहरीको आधिकारिक सूचना र घटनास्थलको वास्तविकताबीच अन्तर देखिएको छ ।

पक्राउको श्रेय लिन प्रहरीलाई किन हतारो ?
प्रहरीले घटनाको विवरण सार्वजनिक गर्दा पक्राउको वास्तविक प्रक्रिया र संलग्न पक्षको भूमिका स्पष्ट पार्नु आवश्यक हुन्छ । चोरी गर्दै गरेको व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो भने त्यसको श्रेय प्रहरी टोलीले आफैँ लिन खोज्नु सूचनाको विश्वसनीयतामाथिकै प्रश्न हो ।
प्रहरी विज्ञप्तिमा प्रयोग हुने शब्द सामान्य प्रशासनिक भाषा मात्र होइनन् । अनुसन्धान, जाहेरी, अभियोजन र अदालतमा प्रस्तुत हुने घटनाक्रममा यिनै विवरणले महत्वपूर्ण अर्थ राख्छन् । त्यसैले घटनाको वास्तविकता पुष्टि नगरी वा प्रत्यक्ष भूमिका स्पष्ट नपारी जारी गरिने विज्ञप्तिले अनुसन्धान प्रक्रियामै भ्रम सिर्जना गर्न सक्छ ।
स्थानीयको सक्रियतामा चोरीको प्रयास विफल भएको घटनालाई प्रहरीले आफ्नै सफलताका रूपमा प्रचार गर्न खोजेको आरोप उठ्नुले पर्सा प्रहरीको सूचना सम्प्रेषण शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । पक्राउ परेको मोटरसाइकल चोरलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
तस्करी नियन्त्रणमा मौन, चोरी नियन्त्रणमा प्रचारमुखी ?
वीरगंजमा चोरीका घटना बढिरहेको अवस्थामा प्रहरीको नियमित गस्ती, निगरानी र अपराध नियन्त्रणको प्रभावकारितामाथि पनि स्थानीयले प्रश्न उठाउन थालेका छन् । प्रहरीको प्राथमिकता तस्करी नियन्त्रण र अपराध अनुसन्धान हुनुपर्नेमा सीमाक्षेत्रमा हुने अवैध गतिविधि तथा तस्करीसँग जोडिएका आर्थिक चलखेलमा प्रहरीको ध्यान केन्द्रित भएको छ ।
रातीको १२ बजेपछि वीरगंज महानगरपालिका–१६ इनर्वा, नगवा तथा मुसहर्वा नाकाबाट रातभरी तस्करीको सामान वीरगंज बजारसम्म पुग्ने गरेको छ । नेपाल भारत सीमा क्षेत्रदेखि वीरगंज बजारसम्म पुग्न आधा दर्जन बढी प्रहरी चौकी पर्छ र ठाउँ ठाउँमा प्रहरी कर्मचारी खटेका हुन्छन् तर दिनमा कडाई देखाने पर्सा प्रहरीले रातको समयमा आँखा चिम्लिँदा तस्करीको सामान वीरगंज बजारसम्म सहजै पुग्ने गरेको छ ।
प्रहरीको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा र अपराध नियन्त्रण हो, आफ्नो संस्थागत छवि चम्काउन घटनाको श्रेय लिने प्रतिस्पर्धा होइन । मोटरसाइकल चोर पक्राउ परेको घटनामा स्थानीय युवाहरूले देखाएको सक्रियता प्रशंसनीय छ । तर नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था सिर्जना हुनु र वास्तविक घटनाक्रमभन्दा फरक विवरणसहित प्रहरी विज्ञप्ति आउनु दुवै विषय गम्भीर छन् ।
अब जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीको घटनामा वास्तविक रूपमा कसले आरोपितलाई नियन्त्रणमा लिएको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने देखिन्छ । साथै, वीरगंजमा बढ्दो चोरीका घटनाको नियन्त्रण, पुराना चोरी भएका मोटरसाइकलको खोजी र प्रहरीको कार्यसम्पादनमाथि उठेका प्रश्नको जवाफसमेत दिनुपर्ने आवश्यकता छ ।




























प्रतिक्रिया दिनुहोस् !