कलैया (बारा), १२ कात्तिक । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र आदापुर प्रहरीले संयुक्त गस्तीका क्रममा ती चौपाया नियन्त्रणमा लिएका हुन् । एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब २ः१५ बजे सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा चौपाया फेला पारेको हो ।
एसएसबीका अनुसार प्राप्त सूचनाका आधारमा परिचालित टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिक नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा ती चौपाया फेला पारेको थियो । बरामद चौपायामा तीनवटा गाई, चारवटा बाच्छा र तीनवटा बाच्छी छन् । प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ लैजाँदै गरिएको थियो ।
रातको अँध्यारोको फाइदा उठाउँदै तस्करीमा संलग्न व्यक्तिहरू भने नेपालतर्फ भागेका थिए । बरामद गरिएका सबै चौपाया आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ । एसएसबीको ७१औँ बटालियन मुख्यालय पिपराकोठीका अनुसार सीमावर्ती क्षेत्रमा चौपाया तस्करी नियन्त्रण गर्न सूचनाका आधारमा निगरानी र संयुक्त गस्तीलाई निरन्तरता दिइँदै आएको छ ।

























प्रतिक्रिया दिनुहोस् !