वीरगंज (पर्सा), ९ कात्तिक । सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जाने वीरगंजका खेलाडीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले सम्मानसहित बिदाइ गरेका छन् । वीरगंजस्थित त्रिशालामा सफल तेक्वान्दो डोजाङ क्लबद्वारा आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई खादा ओढाएर सम्मान गर्दै सफलताको शुभकामनासहित बिदाइ गरिएको हो ।
क्लबका गुरु एमडी ओसामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पटेलले खेलाडीहरू राष्ट्रको पहिचान स्थापित गर्ने भविष्यका कर्णधार भएको बताए । खेलकुदमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
छ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै
सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका लागि छनोट भएका अनिश कुमार सराफ, सौरभ गिरि, राजन शाह, सचिन कुशवाहा, दुर्गा गिरि र कुकि मुखियालगायत खेलाडीलाई कार्यक्रममा सम्मानसहित बिदाइ गरिएको थियो । प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै आयोजकले उनीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए ।
खेलाडीको मनोबल बढाउन सहयोग गर्ने प्रतिबद्धता
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी जेन–जी पर्साका सल्लाहकार वीरेन्द्र कण्ठ, रास्वपा वीरगंज महानगर कार्यसमिति सदस्य सुरज महसिन राजा, चन्दन महतो तथा युवा नेता सुरेश गुप्तालगायतले खेलाडीहरूलाई शुभकामना दिँदै सफलताको कामना गरेका थिए ।
कार्यक्रमको सहजीकरण जेन–जी पर्साका संयोजक महादेवप्रसाद कुर्मीले गरेका थिए । सफल तेक्वान्दो डोजाङ क्लबका गुरु एमडी ओसामाले कार्यक्रमको समापन गरेका थिए । खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित बिदाइ कार्यक्रमले प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !