वीरगंज (पर्सा), ४ कात्तिक । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने तथा खेल्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराई जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मंगलबार साँझ करिब ७ः३० बजे उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने कार्य भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले क्यासिनोमा छापा मारेर जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा पर्नेमा बाराको पचरौता नगरपालिका–४ निवासी ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ निवासी ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ निवासी ४७ वर्षीय सुवास कुमार, परोहा नगरपालिका–९ निवासी ५० वर्षीय सुमेश्वरनाथ प्रसाद र परवानीपुर गाउँपालिका–५ निवासी ३५ वर्षीय सुनील पटेल रहेका छन् ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने गतिविधिबारे प्रहरीले सूचना पाएपछि गरेको कारबाहीले वीरगंजमा सञ्चालित क्यासिनोहरूको गतिविधि र निगरानीको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

























प्रतिक्रिया दिनुहोस् !