वीरगंज (पर्सा), १७ असोज । पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत प्रहरी अधिकारी र उनले खटाएका घुमुवा प्रहरीको कार्यशैली पुनः विवादमा परेको छ । प्रहरी निरीक्षक समुन्नत अधिकारीले आफ्ना मातहत परिचालन गरेका घुमुवा प्रहरी पप्पु पण्डित १ लाख रुपैयाँ अवैध रकम असुलीको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सा तानिएपछि प्रहरीको आन्तरिक कमान्ड र नियन्त्रणमाथि गम्भीर प्रश्न खडा भएको हो ।
पण्डित पछिल्लो तीन दिनदेखि जिल्लाको नियन्त्रणमा छन् । यसअघि पनि निरीक्षक अधिकारीले नै सादा पोसाकमा परिचालन गरेका प्रहरी जवान श्रीलाल मण्डल र सुशील मण्डल गैरकानुनी रकम असुलीको आरोपमा जिल्ला तानिएका थिए । लगातार तेस्रोपटक उस्तै आरोपमा घुमुवाहरू कारबाहीस्वरूप जिल्ला तानिनुले पटेर्वा सुगौलीमा प्रहरीको बदनामी र आचरणगत समस्या दोहोरिइरहेको पुष्टि गर्छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीको असुली आतंकले समाजमा आतंकित छ नै, प्रहरी संगठनको समेत बदनाम भइरहेको छ ।
प्रहरी निरीक्षक अधिकारीको असुली आतंकको विरुद्ध जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले सुइँको पाएपछि प्रहरी निरीक्षक अधिकारीले आफू जोगिने उपाय रच्दै आफूले खटाएका घुमुवालाई बलीको बोका बनाइरहेको खुलासा भएको छ । जिल्लाले नियन्त्रणमा लिएको पण्डितको साथबाट एक लाख रुपैयाँ नगद बरामद भएको समाचार स्रोतको दाबी छ । स्थानीयका अनुसार पण्डीतले प्रहरी निरीक्षक अधिकारीले खटाएको स्थानबाट रकम असुली गरेका थिए । रकम अधिकारीलाई बुझाउन नपाउँदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले थाहा पाएका हुन् ।
पटक–पटक घुमुवा जिल्लामा तानिए पनि प्रहरी निरीक्षक अधिकारीलाई भने स्थानीय जनप्रतिनिधि र उनका सहयोगीहरूले चोख्याएर बचाउने गरेका स्रोतको दाबी छ ।
एक लाख असुली र रहु माछाको प्रसङ्ग
स्थानीय स्रोतका अनुसार असोज १३ गते साँझ सखुवा प्रसौनी गाउँपालिका–१, मधुवनमथवलका स्थानीय लक्ष्मण सहनी आफ्नै घरनजिकैको पोखरीमा माछालाई अक्सिजन दिने व्यवस्था मिलाउँदै थिए । सोही क्रममा मनवा बजारबाट फर्किंदै गरेका प्रहरी निरीक्षक समुन्नत अधिकारीले सहनीलाई प्रहरी चौकी रंगपुर जान भनेका थिए ।
सहनीले कारण सोध्दा, उनका छोराविरुद्ध ‘चेक बाउन्स’ को उजुरी परेकाले छलफल गर्नुपर्ने जवाफ दिइयो । आफूविरुद्ध कुनै आधिकारिक उजुरी नरहेको भन्दै सहनीले जान अस्वीकार गरेपछि निरीक्षक अधिकारीले ‘नआए हत्कडी लगाएर लैजाने’ चेतावनी दिए । दबाबपछि सहनी प्रहरी चौकी रंगपुर पुग्न बाध्य भए ।
चौकीमा पुर्याएपछि सहनीलाई छुटाउन आफन्तहरूसँग १ लाख रुपैयाँ माग गरिएको थियो । रकम घुमुवा प्रहरी पप्पु पण्डितमार्फत बुझाइएको र पछि रकम पण्डितको कब्जाबाटै बरामद भएको दाबी गरिएको छ । रकम इन्स्पेक्टर अधिकारीसमक्ष पुग्नुअघि नै रंगपुरका एक प्रहरी कर्मचारीले जिल्ला प्रहरी प्रमुख पवन भट्टराईलाई सूचना दिएपछि यो घटना सतहमा आएको हो ।
स्थानीयस्तरमा भने सहनीको पोखरीबाट प्रहरीले रहु माछा पनि लगेका थिए । ‘जिल्लाबाट पक्राउ गर्न तथा अनुसन्धान गर्न आदेश आएको छ’ भन्दै नामावली देखाएर प्रहरी निरीक्षक अधिकारीले असुली गरिरहेको विषयलाई लिएर प्रहरी प्रशासनको चर्को आलोचना भइरहेको छ ।
गुनासोपछि कारबाहीः जिल्ला तानिए पण्डित
घटनाबारे उजुरी र गुनासो आएपछि पर्साका प्रहरी प्रवक्ता (डिएसपी) चक्र मल्लले प्रहरी जवान पप्पु पण्डितलाई जिल्ला प्रहरी कार्यालय तानिएको पुष्टि गरेका छन् । यद्यपि, यसअघि असुलीकै आरोपमा तानिएका श्रीलाल मण्डल र सुशील मण्डलमाथि जिल्ला प्रहरी कार्यालय पर्साले के–कस्तो विभागीय कारबाही गर्यो भन्ने विषयमा हालसम्म कुनै स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । यसले प्रहरीभित्रै छानबिन प्रक्रिया ढिलासुस्ती हुने र दोषीलाई उम्क्याउन खोजिने आशंका बढाएको छ ।
सीमावर्ती तस्करी र अवैध धन्दा नियन्त्रणमा प्रहरीकै भूमिकामाथि शंका
पटेर्वा सुगौली र यस वरपरका मिलनचोक, बडनिहार, हरपुर, मनवा बजार, पञ्चगावा बजार, निचुटा, देउरिया तथा मनिहरवाजस्ता क्षेत्रमा लागुऔषध, अवैध मदिरा, भन्सार छलीका सामान र नदीजन्य पदार्थको अवैध उत्खनन एवम् तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
अवैध गतिविधि नियन्त्रण गर्न खटाइने स्थानीय प्रहरी अधिकारी र सादा पोसाकका प्रहरीहरू नै असुली धन्दामा संलग्न देखिएपछि प्रहरीको सूचना संयन्त्र, कमान्ड कन्ट्रोल र आन्तरिक निगरानी प्रणालीमाथि गम्भीर औँला उठेको छ ।
१७ किलो गाँजा बरामद प्रकरणमा पनि विवादको छाया
पटेर्वा सुगौली क्षेत्रमा प्रहरीले गरेका अन्य कारबाही पनि विवादरहित हुन सकेका छैनन् । भदौ २५ गते राति सुरज यादवको घरमा प्रहरीले छापा मारेको तर केही नभेटिएपछि भथौडा टोलबाट ६९ वर्षीय दुःखी महतो नुनियालाई गोठबाट गाँजा बरामद गरिएको भन्दै पक्राउ गरिएको थियो ।
यस घटनामा प्रहरीले सार्वजनिक गरेको गाँजाको परिमाण (१८ किलोदेखि १८ किलो ७०० ग्रामसम्म) मिडियापिच्छे फरक–फरक आएको थियो । उता, क्यान्सरको उपचार गराइरहेका वृद्ध नुनियाका आफन्त र स्थानीयले भने प्रहरीले निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाएको र गाँजा कसको हो भन्नेबारे उनलाई थाहै नभएको दाबी गर्दै आएका छन् ।
पुराना कारोबारेहरू, कुनै बेला प्रहरीमा पक्राउ गरेका व्यक्तिहरू र हाल सक्रिय रहेकाहरूलाई समेत हत्कडी लाग्ने दिन आउँदैछ भन्दै रकम अशुली गरेर जनप्रतिनिधिहरूलाई समेत लिएर प्रहरी निरीक्षक अधिकारी होटल र क्यासिनोमा समेत पुग्ने गरेको समाचार स्रोतको दाबी छ । केही दिन पहिले प्रहरी अधिकारी र जनप्रतिनिधिसहित क्यासिनोबाट पक्राउ परेपछि पनि क्यासिनो छिर्न अधिकारी डराएका छन् ।
सार्वजनिक प्रश्न र पर्सा प्रहरीको दायित्व
पटकपटक सादा पोसाकका प्रहरीमाथि रकम असुलीको आरोप लाग्नु र उनीहरूलाई जिल्ला तानिनुले पटेर्वा सुगौलीको प्रहरी नेतृत्वमाथि नैतिक प्रश्न खडा गरेको छ ।
१ लाख रुपैयाँ असुली प्रकरणमा जिल्ला तानिएका पप्पु पण्डितमाथि निष्पक्ष विभागीय छानबिन हुन्छ या विगतका घटनाजस्तै सामसुम पारिन्छ भन्नेमा स्थानीय नागरिक र सञ्चारमाध्यमको चासो बढेको छ । यस विषयमा पर्सा प्रहरी प्रमुखको आधिकारिक र पारदर्शी कदम नै निर्णायक हुने देखिन्छ ।












प्रतिक्रिया दिनुहोस् !