जनकपुरधाम (धनुषा), १५ असोज । कमला नगरपालिकामा कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्दै वर्षैभरि खेतमा सिँचाइको पहुँच पुर्याउने योजना अघि सारिएको छ । कमला नगरपालिका मेयर पदका उम्मेदवार अर्जुन कुमार मण्डलले सिँचाइ व्यवस्थामा सुधारलाई कृषि उत्पादन, किसानको आम्दानी र रोजगारी वृद्धिसँग जोडेर अघि बढाउने बताएका छन् ।
मण्डलका अनुसार कमला नगरपालिकाको आर्थिक समृद्धिको मूल आधार नै कृषि भएकाले सिँचाइलाई सामान्य पूर्वाधार निर्माणको विषयमा मात्र सीमित गर्न नहुने अवस्था छ । खेतमा नियमित पानीको व्यवस्था हुन सके मात्रै किसानलाई मौसमको अनिश्चितताबाट मुक्त गर्दै उत्पादनमुखी र आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । उनले पर्याप्त सिँचाइ सुविधा नहुँदा अझै पनि किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य रहेको उल्लेख गर्दै यो अवस्थाको अन्त्यका लागि व्यवस्थित, दिगो र किसानमैत्री सिँचाइ प्रणाली आवश्यक रहेको बताए ।
कमला नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार नगर क्षेत्रको ८५.१२ प्रतिशत भूभाग कृषियोग्य जमिनले ओगटेको छ । ठूलो कृषि सम्भावना रहेको यस्तो क्षेत्रमा भरपर्दो सिँचाइ सुविधा विस्तार गर्न सके उत्पादनसँगै किसानको आयसमेत उल्लेख्य रूपमा बढाउन सकिने मण्डलको तर्क छ । ‘किसानले आकाश हेरेर खेती गर्ने अवस्था अब अन्त्य गर्नुपर्छ । खेतमा पानी, किसानको हातमा प्रविधि र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके मात्र कमलाको वास्तविक समृद्धि सम्भव हुन्छ,’ मण्डलले भने ।
नहरदेखि डिप ट्युबवेलसम्म विस्तारको प्रस्ताव
मण्डलले नगरभित्र सञ्चालनमा रहेका परम्परागत तथा विद्यमान सिँचाइ संरचनाको अवस्था पहिचान गरी आवश्यकताअनुसार नहर विस्तार, मर्मत तथा पुनःनिर्माण गर्ने योजना अघि सारेका छन् । नहरको पहुँच नपुगेका खेत तथा बस्तीमा वैकल्पिक माध्यमबाट पानी पुर्याउने, भूमिगत सिँचाइका लागि डिप ट्युबवेल र पम्पिङ प्रणाली विस्तार गर्ने तथा आवश्यक स्थानमा विद्युतीकरणको व्यवस्था मिलाउने उनको प्रस्ताव छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार पश्चिमी नहर प्रणालीमार्फत धनुषाका विभिन्न स्थानीय तहमा करिब १२ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य रहेको छ । पूर्वी नहर प्रणालीमार्फत सिरहासहितका क्षेत्रमा समेत सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । भूमिगत सिँचाइतर्फ डिप ट्युबवेल, पम्प हाउस, स्टोरेज ट्याङ्क तथा पानी वितरण प्रणाली निर्माणका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।
मण्डलले यस्ता ठूला सिँचाइ प्रणालीबाट कमला नगरपालिकाका किसानले अधिकतम लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्ने बताएका छन् । नहरमा पानी आए पनि शाखा नहर र कुलोको अवस्थाका कारण खेतसम्म पानी नपुग्ने, जीर्ण संरचनाको नियमित मर्मत नहुनेजस्ता समस्या समाधानका लागि स्थानीय तहको प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
‘पानी पुगेपछि एक बालीमा मात्रै निर्भर हुनुपर्दैन’
मण्डलले सिँचाइ विस्तारलाई केवल पानी उपलब्ध गराउने योजनाका रूपमा नभई समग्र कृषि रूपान्तरणको आधारका रूपमा अघि बढाउने बताएका छन् । उनका अनुसार सिँचाइसँगै गुणस्तरीय बीउ, मल, आधुनिक कृषि प्रविधि, कृषि उपकरण, बजारीकरण र भण्डारणको व्यवस्था जोड्न आवश्यक छ । खेतमा नियमित पानी उपलब्ध भएपछि किसानले वर्षमा एक बालीमा मात्र निर्भर हुनुपर्ने बाध्यता हट्ने उनको दाबी छ ।
‘सिँचाइ भयो भने किसानले एक वर्षमा एउटा मात्र बालीमा निर्भर हुनुपर्दैन । धानपछि गहुँ, मकै, दलहन, तेलहन, तरकारी तथा नगदेबाली उत्पादन गर्न सकिन्छ । त्यसले रोजगारी सिर्जना गर्छ र गाउँको पैसा गाउँमै घुम्छ,’ उनले भने । कमला नदी तथा आसपासका जलस्रोतको सम्भावनालाई समेत कृषि प्रयोजनमा व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने मण्डलको धारणा छ । बाढीका बेला आउने पानीलाई व्यवस्थापन गरी सुख्खा समयमा कृषि प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनाको अध्ययन गर्ने उनले बताएका छन् ।
दीर्घकालीन सिँचाइ आयोजना सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मण्डलले तीनै तहको सहकार्यमा योजना अघि बढाउने बताएका छन् ।
किसानको खेतमै पुगेर सिँचाइ योजना बनाउने दाबी
मण्डलले सिँचाइ पूर्वाधार निर्माणमा स्थानीय किसानको प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिने बताएका छन् । उनका अनुसार कुन क्षेत्रमा पानी पुगेको छैन, कहाँ नहर भत्किएको छ र कुन ठाउँमा डिप ट्युबवेल आवश्यक छ भन्ने विषय किसानसँगको छलफलबाट पहिचान गरिनेछ । ‘सिँचाइको योजना कार्यालयमा बसेर बनाउने नभई किसानको खेतमा पुगेर बनाउने हो । कुन ठाउँमा पानी पुगेको छैन, कहाँ नहर भत्किएको छ, कहाँ ट्युबवेल आवश्यक छ भन्ने कुरा किसानसँगै बसेर पहिचान गर्छौँ,’ मण्डलले भने ।
सिँचाइ संरचनाको संरक्षण र सञ्चालनमा किसान तथा स्थानीय उपभोक्ताको भूमिका सुनिश्चित गर्दै पारदर्शी व्यवस्थापन प्रणाली विकास गर्ने उनको योजना छ । पूर्वाधार निर्माणमा हुने अनियमितता रोक्न सार्वजनिक अनुगमन र सामाजिक परीक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । योजना छनोटदेखि निर्माण र सञ्चालनसम्म स्थानीय नागरिकको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ ।
‘खेत हरियो भयो भने मात्रै समृद्ध कमला’
कमला नगरपालिकामा कृषि क्षेत्रको सम्भावना ठूलो भए पनि किसानले बजार, मल, बीउ, सिँचाइ र उत्पादन लागतसँग सम्बन्धित समस्या झेल्दै आएका छन् । स्थानीय तहले कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ भने किसान सूचीकरण तथा कृषि, पशुपन्छी र मत्स्यसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रमसमेत बजेटमा समेटिएको छ ।
मण्डलले आफू निर्वाचित भए सिँचाइलाई नगरको कृषि नीतिको केन्द्रमा राखेर ‘खेतदेखि बजारसम्म’ को अवधारणामा काम गर्ने बताएका छन् । उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने भन्दै किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्नु पनि स्थानीय सरकारको जिम्मेवारी भएको उनको भनाइ छ । उनले आफ्नो विकास दृष्टिकोणलाई ‘समृद्ध कमला, सुखी नगरपालिका’ अवधारणासँग जोड्दै कृषि–रोजगारी, पूर्वाधार, शिक्षा–स्वास्थ्य, स्वच्छ तथा सुरक्षित नगरपालिका र सुशासनलाई समानान्तर रूपमा अघि बढाउने बताएका छन् ।
सिँचाइमा हुने लगानीलाई दीर्घकालीन कृषि रूपान्तरणसँग जोड्ने उनको दाबी छ । खेतमा बाह्रै महिना उत्पादन गर्न सकिने वातावरण तयार भए कृषि उत्पादनमा आत्मनिर्भरता बढ्नुका साथै स्थानीय स्तरमै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ । ‘कमलाको समृद्धि कागजमा नभई किसानको खेतमा देखिनुपर्छ । किसानको खेत हरियो भयो भने मात्रै समृद्ध कमला बनेको मान्छौँ,’ मण्डलले भने ।











प्रतिक्रिया दिनुहोस् !