जलेश्वर (महोत्तरी), १५ असोज । रातु नदीको बाँध भत्किएपछि नदीको पानी महोत्तरी सदरमुकाम जलेश्वरका बस्ती तथा सडकमा पस्दा नगर क्षेत्र जलमग्न भएको छ । रातु नदीको पानी जलेश्वरनाथ महादेव मन्दिर आसपासका क्षेत्र, नगरभित्रका सडक तथा बस्तीमा पसेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको हो । सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या भएको छ ।
महोत्तरीको मडै, बदिया बञ्चौरी र गोरिगामामा रातु नदीको बाँध भत्किएपछि पानी जलेश्वरतर्फ प्रवेश गरेको हो । असोज ९ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बाँध भत्किएको बताइएको छ । बाँध भत्किएपछि बिहीबारदेखि नै जलेश्वरका विभिन्न स्थानमा पानी जम्न थालेको थियो । पानीको निकास सहज नहुँदा जलेश्वरनाथ महादेव मन्दिर आसपासका सडक तथा बस्तीमा अझै पानी जमेको छ ।
नदीको पानी बस्तीमा पसेपछि दैनिक उपभोगका काम प्रभावित भएका छन् । स्थानीयलाई घरबाहिर निस्कन तथा आवतजावत गर्न समस्या भएको छ । नदीको पानीले आसपासका खेतमा लगाइएको धानबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार रातु नदीमा निर्माण गरिएको बाँध कमजोर भएकाले वर्षायाममा नदीको बहाव बढ्दा हरेक वर्ष बस्तीमा पानी पस्ने समस्या दोहोरिने गरेको छ । पटक–पटक समस्या देखिए पनि बाँधको दीर्घकालीन व्यवस्थापन हुन नसकेको उनीहरूको गुनासो छ ।
यता, जिल्ला प्रशासन कार्यालय महोत्तरीले रातु नदीको बाँध भत्किएको स्थानमा मर्मतको काम भइरहेको जनाएको छ । बाँध मर्मत गरी नदीको पानी बस्तीमा थप पस्न नदिने तथा प्रभावित क्षेत्रमा जमेको पानीको निकास व्यवस्थापन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस् !