भङ्गाहा (महोत्तरी), १५ असोज । देशकै प्रमुख अन्नबाली धान उत्पादनका लागि परिचित महोत्तरीका किसान यस वर्ष पनि खेती कसरी टिकाउने भन्ने चिन्तामा छन् । समयमै सिँचाइको सुविधा नहुनु, आवश्यक समयमा गुणस्तरीय बीउ तथा मलखाद नपाइनु र वर्षेनी देखिने प्रतिकूल मौसमका कारण धानखेती किसानका लागि क्रमशः चुनौतीपूर्ण बन्दै गएको छ । धान यहाँका किसानको परिवार पाल्ने मुख्य आधार हो । तर बीउ राख्ने समयदेखि रोपाइँ, गोडमेल, स्याहार हुँदै उत्पादन भित्र्याउने बेलासम्म कुनै न कुनै समस्या दोहोरिरहँदा किसानमा धानखेतीप्रतिको उत्साह घट्दै गएको छ ।
भङ्गाहा–४ पलारका किसान रामनारायण थारुका अनुसार धानखेतीको सबैभन्दा ठूलो आधार पानी हो । तर आकाशे पानीमै निर्भर हुनुपर्दा खेतीको भविष्यबारे हरेक वर्ष चिन्ता गर्नुपर्ने अवस्था छ । ‘धानबालीका लागि सिँचाइ नै मुख्य कुरा हो। आकाशे पानीको भरमा खेती गर्नुपरेको छ । बालीलाई आवश्यक समयमा वर्षा नहुँदा रोपाइँ कसरी गर्ने भन्ने चिन्ता हुन्छ,’ थारुले भने, ‘खेतीको समयमा बीउ र मलसमेत सहजै पाइँदैन । अब धानखेतीबाटै परिवार धान्न सकिएला जस्तो लाग्न छाडेको छ ।’
७० वर्षीय थारुका अनुसार पुस्तौँदेखि परिवारले गर्दै आएको खेतीप्रतिको भरोसा पछिल्ला वर्षमा कमजोर हुँदै गएको छ । भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतर पनि विगत र अहिलेको खेती प्रणालीमा ठूलो अन्तर आएको बताउँछन् । उनका अनुसार पहिले धान रोप्ने, गाँजिने र पाक्ने समयसँगै पानी पर्ने गर्थ्यो । किसानले आवश्यक बीउ आफैं सुरक्षित राख्थे र अहिलेको जस्तो रोग तथा कीराको समस्या पनि कम थियो । ‘पहिले खेतीका लागि पानीका मूल प्रशस्तै थिए । किसानले आफैं बीउ जोगाएर राख्थे । रोगव्याधि पनि अहिलेको जस्तो थिएन,’ पुराना दिन सम्झँदै बाँतरले भने, ‘देख्दादेख्दै ती पानीका मूल हराए । अहिलेको अवस्था हेर्दा समय नै बदलिएको जस्तो लाग्छ ।’
१० प्रतिशत खेतमा मात्रै कुलो–नहर
महोत्तरीमा धानखेतीका लागि आवश्यक सिँचाइ सुविधा अत्यन्त सीमित रहेको तथ्याङ्कले देखाउँछ । जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जमिन रहेपनि कुल खेतीयोग्य क्षेत्रफलको करिब १० प्रतिशतमा मात्रै कुलो वा नहरको पहुँच पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क छ । भूमिगत जलस्रोतसमेत प्रयोग गर्दा जिल्लाको करिब ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ ।
सिँचाइ सुविधा पुगेको भनिएका कतिपय क्षेत्रमा पनि पानीका मुहान सुक्दै गएका छन् । धानलाई अन्य धेरै बालीको तुलनामा बढी पानी आवश्यक पर्ने भएकाले पर्याप्त सिँचाइ नहुँदा रोपाइँदेखि उत्पादनसम्म असर पर्ने किसान बताउँछन् । बलवा–११ का किसान उत्तिम माझीका अनुसार आकाशे पानीमा निर्भर किसानले हरेक वर्ष मौसमको अनिश्चितता सामना गर्नुपर्छ । ‘सिँचाइ मुख्य समस्या हो नै, त्यससँगै समयमा राम्रो बीउ र मल पाउन पनि भौतारिनुपर्छ,’ माझीले भने, ‘धान रोप्ने समयमा मजदुरसमेत पाइँदैनन् । यस्तो अवस्थामा खेती धान्नै गाह्रो भइरहेको छ ।’
खडेरीले घटायो रोपाइँ, बाढीले घटायो उत्पादन
महोत्तरीमा धानखेतीको क्षेत्रफल र उत्पादन वर्षअनुसार ठूलो उतारचढाव देखिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार विगतमा अनुकूल वर्षा हुँदा जिल्लामा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती हुने गरेको थियो । जिल्ला कृषि विकास कार्यालयमा कृषि अधिकृतका रूपमा काम गरेका रामबहादुर भुजेलले २०५४/५५ सालअघिका वर्ष सम्झँदै त्यतिबेला धानखेतीको क्षेत्रफल ४५ हजार हेक्टरभन्दा माथि पुग्ने गरेको बताए ।
पछिल्ला वर्षको तथ्याङ्कले पनि मौसमसँगै धानखेतीको क्षेत्रफल बदलिएको देखाउँछ । २०८० सालमा जिल्लामा ४० हजार ३२१ हेक्टरमा धानखेती गरिएको थियो भने २०८१ सालमा यो क्षेत्रफल बढेर ४२ हजार ५०० हेक्टर पुगेको थियो । तर २०८२ सालमा लामो समयसम्म परेको खडेरीका कारण धान रोपाइँको क्षेत्रफल घटेर ३० हजार ९८६ हेक्टरमा सीमित भयो । रोपिएको धानसमेत असोज दोस्रो साताको वर्षा र बाढीबाट प्रभावित हुँदा उत्पादन ८० हजार १७७ मेट्रिकटनमा सीमित भएको कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी तथा कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिए ।
यस वर्ष भने गत वर्षको तुलनामा धानखेतीको क्षेत्रफल केही बढेको छ । पर्याप्त वर्षा नभए पनि किसानले वैकल्पिक रूपमा पानीको व्यवस्था गर्दै करिब ३६ हजार हेक्टरमा धान रोपाइँ गरेको महतोले बताए । उनका अनुसार धान काट्ने र दाइँ गर्ने समयसम्म मौसम अनुकूल रहे यस वर्ष जिल्लाको धान उत्पादन एक लाख मेट्रिकटनभन्दा बढी पुग्न सक्ने कार्यालयको अनुमान छ । तर त्यसको मुख्य आधार अझै पनि पानीकै उपलब्धतामा निर्भर छ ।
नदी–खोला छन्, खेतमा पानी छैन
पाका किसानका अनुसार महोत्तरीमा बर्सेनि धानखेतीको क्षेत्रफल र उत्पादनमा आउने फरकको प्रमुख कारण मौसमको अनुकूलता वा प्रतिकूलता हो । भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारु पछिल्लो एक दशकमा किसानले चाहेजति धानखेती गर्न नसकेको बताउँछन् ।
‘पछिल्ला १० वर्षमा कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन । पानी, बीउ र मलको अभाव मुख्य समस्या हो,’ उनले भने, ‘हाम्रा बस्ती वरिपरि नदी, खोला र जलाधार क्षेत्र प्रशस्तै छन् । तर तिनलाई व्यवस्थित गरेर खेतसम्म पानी पुर्याउने व्यवस्था हुन सकेको छैन ।’ उनका अनुसार सिँचाइका लागि वरदान बन्नुपर्ने नदी तथा खोलाहरू उचित व्यवस्थापनको अभावमा उल्टै बाढीका बेला खेत, घर र बालीनालीमा क्षति पुर्याउने स्रोत बनेका छन् ।
‘किसानलाई टिकाउन राज्यले लगानी गर्नुपर्छ’
कृषि क्षेत्रका जानकार तथा पाका किसानले धानखेतीलाई पुनः आकर्षक र टिकाउ बनाउन तीनै तहका सरकारले सिँचाइ, गुणस्तरीय बीउ, समयमै मल तथा सहज कृषि ऋणको व्यवस्था गर्नुपर्ने बताएका छन् । उत्पादनमा उचित अनुदान र किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सके परम्परागत खेतीलाई पुनः मजबुत बनाउन सकिने उनीहरूको भनाइ छ ।
भङ्गाहा–६ सग्रामपुरका कृषि क्षेत्रबाट अवकाशप्राप्त कृषिविज्ञ जासर यादवका अनुसार धानलगायत परम्परागत बाली उत्पादनको लागत निरन्तर बढ्दै गएको छ । लागत बढे पनि उत्पादन र बजारको सुनिश्चितता नहुँदा किसानको आर्थिक क्षमता कमजोर हुँदै गएको उनको भनाइ छ । ‘सिँचाइको अभाव, समयमा मल–बीउको अनिश्चितता र बदलिँदो मौसमको मारबीच महोत्तरीका किसानको प्रश्न अब केवल ‘कति धान उत्पादन गर्ने ?’ भन्नेमा सीमित छैन, मुख्य प्रश्न नै ‘धानखेतीबाट परिवार कसरी धान्ने?’ बन्न पुगेको छ ।’










प्रतिक्रिया दिनुहोस् !