वीरगंज (पर्सा), १४ असोज । भारतबाट जिटुजी प्रक्रियामार्फत ठूलो परिमाणमा रासायनिक मल नेपाल भित्रिन थालेपछि वीरगंजस्थित कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालयलाई मल व्यवस्थापन गर्नै समस्या परेको छ । पछिल्लो तीन सातादेखि निरन्तर युरिया र डिएपी आउन थालेपछि कार्यालयअन्तर्गतका सबै गोदाम भरिएका छन् । गोदाममा ठाउँ अभाव भएपछि कम्पनीले गण्डक नहर पश्चिमतर्फ थप एउटा गोदाम भाडामा लिएर मल राख्न थालेको छ । आफ्ना सबै भण्डारणस्थल भरिएपछि बाध्य भएर वैकल्पिक व्यवस्था गर्नुपरेको कम्पनीले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख दिनेश शर्माका अनुसार वीरगंजस्थित कार्यालय परिसरको गोदाम, भुटनदेवीस्थित गोदाम र नेसनल ट्रेडिङको गोदाम भाडामा लिएर यसअघि नै मल भण्डारण हुँदै आएको थियो । ती सबै गोदाम भरिएपछि थप मल व्यवस्थापनका लागि गण्डक नहर पश्चिमतर्फको गोदाम भाडामा लिइएको हो । ‘हाम्रा सबै गोदाम भरिइसकेका छन् । थप मल पनि निरन्तर आइरहेकाले गण्डक नहर पश्चिम एउटा गोदाम भाडामा लिएर भण्डारणको व्यवस्था गरेका छौं,’ शर्माले भने ।
सरकारले जिटुजी सम्झौताअन्तर्गत भारतबाट ३० हजार टन युरिया खरिद गरेको छ । उक्त परिमाणमध्ये २ हजार ६ सय ५४ टन युरिया वीरगंजस्थित कृषि सामग्री कम्पनीका गोदाममा आइसकेको छ । कुल खरिद गरिएको युरियामध्ये ११ हजार ५ सय टन वीरगंज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ । बाँकी युरिया भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि छुट्याइएको कम्पनीले जनाएको छ । भैरहवा कार्यालयका लागि तोकिएको मलसमेत वीरगंज नाकाबाटै नेपाल ल्याइँदै छ । वीरगंज नाकाबाट भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, भारतबाट जिटुजी प्रक्रियामार्फत २० हजार टन डिएपी खरिद गरिएको छ । त्यसमध्ये ४ हजार ९ सय ७७ टन डिएपी वीरगंजमा भण्डारण भइसकेको निमित्त प्रमुख शर्माले जानकारी दिए । खरिद गरिएको डिएपीमध्ये ७ हजार ६ सय टन वीरगंज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ भने बाँकी भैरहवा र विराटनगरका लागि हो ।
जिटुजी प्रक्रियाबाट पछिल्लो समय भित्रिएको मलसमेत जोड्दा वीरगंजस्थित कम्पनीका गोदाममा अहिले १५ हजार ७ सय टन युरिया, ८ हजार ९ सय ६४ टन डिएपी र ३ हजार ४ सय ७१ टन पोटास मौज्दात रहेको छ । कम्पनीका अनुसार मौज्दातमा रहेको र आगामी दिनमा थप भित्रिने मल हिउँदे बालीका लागि वितरण गरिनेछ । विशेषगरी गहुँ तथा तेलहन बालीका लागि मलको आवश्यकता पर्ने भएकाले अहिले भित्रिएको मल सोहीअनुसार वितरणको तयारी गरिएको शर्माले बताए ।
धान बालीको सिजन सकिएकाले हाल युरिया र डिएपीको माग नरहेको कम्पनीको भनाइ छ । त्यसैले अहिले ठूलो परिमाणमा भित्रिरहेको मल आगामी हिउँदे बालीका लागि उपयोग हुने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस् !