वीरगंज (पर्सा), १४ असोज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि आफूहरूले काम गरेको पारिश्रमिक नपाएको भन्दै व्यवस्थापनविरुद्ध विरोध जनाएका छन् । अस्पतालमा कार्यरत करिब ३० देखि ४० जना कर्मचारीको तलब तथा अन्य पारिश्रमिक रोकिएको उनीहरूको भनाइ छ ।
आफ्नो श्रमको पारिश्रमिक माग गर्दा समेत व्यवस्थापन पक्षबाट स्पष्ट र जिम्मेवार जवाफ नपाएको कर्मचारीहरूले बताएका छन् । अस्पतालका इन्चार्ज रोशन महताका अनुसार तलब भुक्तानीबारे कुरा गर्दा व्यवस्थापन पक्षले ‘कानुनी बाटो खोज्नुहोस्, अदालत जानुहोस्, हामी पैसा दिँदैनौँ’ भन्ने आशयको जवाफ दिएको थियो ।
पारिश्रमिक भुक्तानीको विषयमा व्यवस्थापनसँग पटक–पटक कुरा गर्दा पनि समाधान ननिस्किएपछि कर्मचारीहरू मंगलबार सामूहिक रूपमा विरोधमा उत्रिएका हुन् । आन्दोलनका क्रममा उनीहरूले केही समय अस्पतालको मुख्य प्रवेशद्वार बन्द गर्नुका साथै तालाबन्दीसमेत गरेका थिए ।
कर्मचारीहरूले आफूहरूले काम गरेको अवधिको सम्पूर्ण तलब र बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन् । अस्पतालको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अर्को पक्षलाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेका बेला आफ्नो रोजगारीसँगै यसअघि काम गरेको पारिश्रमिकसमेत अन्योलमा परेको कर्मचारी बुलट तिवारीले बताए ।
व्यवस्थापन परिवर्तन हुँदैमा कर्मचारीको बाँकी पारिश्रमिकको दायित्वबाट सम्बन्धित पक्ष पन्छिन नहुने कर्मचारीहरूको भनाइ छ । आफूहरूले गरेको कामको तलब तथा अन्य बाँकी रकम कसले र कुन प्रक्रियाबाट भुक्तानी गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
अस्पताल सञ्चालनको जिम्मेवारी जुनसुकै पक्षमा गए पनि विगतमा कर्मचारीले गरेको श्रमको पारिश्रमिक सुनिश्चित हुनुपर्ने उनीहरूले बताएका छन् । श्रम गरेबापत पाउनुपर्ने रकमका लागि आफूहरू निरन्तर दबाब दिने कर्मचारीहरूको भनाइ छ ।
समस्या समाधानका लागि अस्पताल व्यवस्थापनबाट ठोस पहल नभएपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा र श्रम कार्यालयमा निवेदन दर्ता गर्ने तयारी गरेका छन् । आफूहरूले गरेको श्रमको उचित पारिश्रमिक पाउने व्यवस्था मिलाउन सम्बन्धित सरकारी निकायले तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ ।










प्रतिक्रिया दिनुहोस् !