वीरगंज (पर्सा), १२ असोज । वीरगंज महानगरपालिका–१५ लक्षुमनामा ‘वास्तु विहार’ आवासीय परियोजनाको निर्माण कार्य अघि बढिरहेको छ । भारतमा सन् २००२ देखि आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर वीरगंजमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार परियोजनाअन्तर्गत वीरगंजमा करिब २०० वटा व्यवस्थित आवासीय घर निर्माण गर्ने लक्ष्य राखिएको छ । हालसम्म ४२ जनाले घर खरिदका लागि अग्रिम रकम बुझाइसकेको कम्पनीले जनाएको छ । एकैपटक ठूलो रकम लगानी गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले चरणबद्ध भुक्तानी र निर्माणको व्यवस्था गरेको जनाएको छ । ग्राहकले जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ ।
जग्गा पास भएपछि नक्सा पासलगायत आवश्यक प्रक्रियामा कम्पनीले सहजीकरण गर्ने र सम्झौताअनुसार घर निर्माण अघि बढाउने जनाएको छ । घर निर्माणको प्रगतिअनुसार ग्राहकले चरणबद्ध रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था रहने कम्पनीले जनाएको छ ।टेक्नोकल्चरका अनुसार भारतमा हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ । भारतमा हासिल गरेको अनुभवलाई वीरगंजमा समेत प्रयोग गर्दै व्यवस्थित तथा पहुँचयोग्य आवास निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको जनाएको छ ।
परियोजनाका नेपाल प्रमुख शशि कुमारका अनुसार ‘वास्तु विहार’ले आवास निर्माणसँगै ग्राहकलाई आवश्यक प्रशासनिक तथा अन्य प्रक्रियामा समेत सहजीकरण गर्नेछ । उनका अनुसार अभिनेता राजेश हमाललाई परियोजनाको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरिएको छ । वीरगंजमा व्यवस्थित आवासको माग बढिरहेको अवस्थामा ‘वास्तु विहार’ परियोजनाले आवास निर्माणको क्षेत्रमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।










प्रतिक्रिया दिनुहोस् !