वीरगंज (पर्सा), १२ असोज । जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सरुवा भएपछि सोमबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । यादवको स्थानमा विश्रामपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सुनिल केशरी जगरनाथपुरमा हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २९ गते गरेको उपसचिव तथा अधिकृतहरूको सरुवाअन्तर्गत यादवलाई जगरनाथपुरबाट बाराको विश्रामपुर गाउँपालिकामा सरुवा गरिएको हो । सरुवा भई विश्रामपुर जान लागेका यादवलाई गाउँपालिकाले सम्मानसहित बिदाइ गरेको कर्मचारी मन्जय गिरीले जानकारी दिए ।
यता, विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका केशरी सोमबार जगरनाथपुर गाउँपालिकामा हाजिर भएपछि उनको स्वागत गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा आयोजित बिदाइ तथा स्वागत कार्यक्रममा अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बविता सिंह क्षेत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा यादवलाई आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै बिदाइ गरिएको थियो भने केशरीलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक काम तथा विकास निर्माणलाई थप गति दिन अपेक्षा व्यक्त गरिएको थियो ।
बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सन्देश कुमार यादवले गाउँपालिकाको प्रशासन सञ्चालन तथा विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय र सहकार्य कायम राख्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले गाउँपालिकाको प्रशासनिक गतिविधि, सेवा प्रवाह तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले निवर्तमान र नवनियुक्त दुवै प्रमुख प्रशासकीय अधिकृतलाई नयाँ जिम्मेवारीमा सफलताको शुभकामना दिएका थिए ।











प्रतिक्रिया दिनुहोस् !